राजनीति
संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।
भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड-माधवले गर्नेछन् ।
विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।
शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए ।
यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।
कहाँ कस्काे आर्क
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपश्चात् आन्दोलनमा उत्रिएको नेकपा (बहुमत) ले पूर्वघोषित कार्यक्रमअनुसार भोलि माघ २८ गते बुधबारको जनप्रदर्शन तथा विरोधसभाको लागि स्थान र नेतृत्व तय गरेको छ ।
उपत्यकाका तीन जिल्लालगायत बाहिरबाट कार्यक्रममा आउने नेता तथा कार्यकर्ताहरुको जुलुस तथा जनप्रदर्शनलाई व्यवस्थित बनाउन राजधानीमा पाँच आर्कलाई केन्द्रबिन्दु बनाइने आयोजकले जानकारी दिएका छन् ।
उपत्यकाको पुल्चोक,त्रिपुरेश्वर, माइतीघर,केशरमहल र जमललगायत पाँच ठाउँबाट जुलुश निकाल्ने तयारी छ ।
विरोध प्रदर्शनको पाँच आर्कमध्ये पुल्चोक आर्कबाट कृष्णबहादुर महरा,पम्फा भुसाल,रघुजी पन्त लगायतको नेतृत्वमा निस्कने जुलुश कुपण्डोल,थापाथली, सुन्धारा हुँदै मूलसभामा परिणत हुने कार्यक्रम र रुट तय भएको छ ।
त्यसैगरी त्रिपुरेश्वर आर्कबाट अष्टलक्ष्मी शाक्य,घनश्याम भुसाल,जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको नेतृत्वमा निस्कने जुलुश सुन्धारा हुँदै मूलसभामा जोडिनेछ भने माइतीघर आर्कबाट अमृत बोहोरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, गणेश साह, मातृका यादवलगायतको नेतृत्वमा थापाथली, त्रिपुरेश्वर हुँदै मूलसभातर्फ अगाडि बढ्ने बताइन्छ ।
केशरमहल आर्कबाट देवप्रसाद गुरुङ, भीम रावल, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेललगायतको नेतृत्वमा दरवारमार्ग, तीनधारा पाठशाला, असन, कमलाक्षी, ईन्द्रचोक, जुद्ध शालिक, न्यूरोड हुँदै नारा जुलुससहित मूलसभामा मिसिने छ । त्यसैगरी जमल आर्कबाट लीलामणि पोखरेलको नेतृत्वमा निस्कने जुलुश कमलाक्षी, असन, ईन्द्रचोक, जुद्ध शालिक, न्यूरोड हुँदै मूलसभामा मिस्सिने छ ।
नेकपा (बहुमत) ले आयोजना गरेको प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्धको जनप्रदर्शन तथा विरोधसभामा सहभागी हुन विभिन्न जिल्ला, प्रदेश, स्थानीय निकायले समेत आवश्यक तयारी पूरा गरेको आयोजकले जानकारीको दावी छ ।