logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सबै पूर्वमाओवादीले ओली समूह छोड्दै : तुरुन्तै घोषणाको तयारी !


  • राजनीति
  • बिहिबार, फाल्गुन ६ २०७७

पार्टीको आन्तरीक विवादमा झेल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि तनाव बढेको छ । ओली पूर्वसहमति अनुसार नचलेपछि उनीनिकट पूर्वमाओवादी नेताहरू असन्तुष्ट बनेका छन् । पार्टी र सरकारमा पूर्वसहमति अनुसारको जिम्मेवारी र भूमिका नदिएपछि पूर्वमाओवादी नेताहरुमा सशंकित बनेका छन्। पार्टीभित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा ओलीसँग उनीहरु चिढिएका हुन्।

पार्टी फुटको बेला पूर्वसहमति अनुसार पाएको जिम्मेवारी समेत खोसिने अवस्था आएपछि पूर्वमाओवादी नेताहरू आन्तरिक परामर्शमा जुटेका छन्। सहअध्यक्ष बनाउने शर्तमा ओली समूहमा पुगेका गृहमन्त्री रामबहादुर थापा पूर्वमाओवादी नेताहरुसँग परामर्श गरिरहेका छन्। प्रधानमन्त्री ओलीसँग दुरी बढ्दै गएको बेला उनले उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भेटेका छन्। उनले आफूलाई साथ दिन रायमाझीसँग आग्रह गरेको उनी निकट एक नेताले जानकारी दिए।

पुर्व माओवादी नेता तथा गृहमन्त्री थापाले पूर्वमाओवादी नेताहरू एक भएर जानुपर्नेमा जोड दिएका थिए। भेटमा उनले रायमाझीलाई ओली पक्षमा लाग्ने कि पूर्वमाओवादी एक भएर जाने विषयमा छिटो निर्णय लिन भनेका छन्। पूर्वमाओवादी पक्षबाट यति धेरै मन्त्री भए पनि पार्टीभित्र भने कमजोर अवस्थामा रहेको गुनासो रायमाझीको पनि छ। तर, पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा भने उनी अन्योलमा रहेको स्रोतको दाबी छ।

प्रचण्ड समूह छोडेर बसेका पूर्वमाओवादीबाट थापा र रायमाझीसहित, लेखराज भट्ट, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली समूहमा लागेर मन्त्री बनेका छन्। पार्टी विभाजनको बेलामा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई सहअध्यक्ष बनाउने र गृहमन्त्री कायम राख्ने वचन दिएका थिए। तर अहिले ओली उक्त वचनबाट पछि हटेका छन्। ओली पूर्वसहमति अनुसार नचलेपछि पूर्वमाओवादी नेताहरू असन्तुष्ट बनेका हुन्।

खुलेरै ओलीको पक्षमा बोल्दै होडेका उद्योगमन्त्री लेखराज भट्ट पनि ओलीसँग चिढिएका छन्। पछिल्ला दिन उनले सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै ओली समूह छोड्न सक्ने संकेत गर्दै आएका छन्। ‘ओलीले पेल्दै गए उनलाई छोड्न कुनै आइतबार कुर्नु पर्दैन’ भट्टले सार्वजनिक रुपमै चेतावनी दिँदै भनेका थिए। भट्टनिकटका नेता-कार्यकर्ताले पनि पछिल्लोसमय सामाजिक सञ्जालमा ओलीविरुद्ध असहमति जाहेर गरिरहेका छन्।

गृहमन्त्री थापालाई दैनिक जसो नेताहरूले भेटेर आफ्नो पक्षको रक्षा गर्न पूर्वमाओवादी नेताहरुले सुझाव दिँदै आएका छन्। केही दिन अघि उर्जामन्त्री रायमाझीलाई समेत भेटेर उनीहरूले पूर्वमाओवादीले एकताबद्ध भएर दह्रो उपस्थिति जनाउन सुझाव दिएको थापानिकट केन्द्रीय सदस्य राजकुमार श्रेष्ठको भनाई छ। उनले भने, ‘नेताहरू एक्लै जाने, मन्त्री हुने गर्दा हामी कमजोर भयौं, पछिल्ला केही निर्णयहरुले सकारात्मक संकेत गरेका छैनन्, यो सच्चिनुपर्छ, पूर्वमाओवादी एक भएर नजाने हो भने समस्या पर्छ भनेर मैले सुझाव दिएको थिएँ।’

केपी ओली समूहमा रहेका एक जना पूर्वमाओवादी नेताका अनुसार पूर्वसहमति कार्यान्वयन नहुँदा अन्योलको स्थिति सिर्जना भएको छ। प्रधानमन्त्री ओलीले पूर्वसहमति कार्यान्वयन नगर्ने स्थिति आए राजनीतिक भविष्यबारेमा नेताहरू गम्भीर भएको ती नेताको भनाई छ। उनका अनुसार सहमति पालना नगर्ने अवस्था बने ओलीको साथ छोड्नेसम्म पनि नेताहरुबीच छलफल भइरहेको छ।

गत माघ ६ गते भएको ओली पक्षको बागमती प्रदेशको पुनर्गठन र माघ २५ र २६ गते युवा संघको भेलामा एकलौटी गरेपछि थापा समूहका कार्यकर्ता थप आक्रोशित बने। ओली समूहअन्तर्गत बागमती प्रदेशको अध्यक्ष आनन्द पोखरेललाई बनाइएको छ। सचिव पद थापा पक्षलाई दिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका थिए। तर, पुनर्गठनका बेला ईश्वर पोखरेलनिकट धादिङका खेम लोहनीलाई सचिव बनाइएको छ।

गृहमन्त्री ‘थापानिकट राजकुमार श्रेष्ठलाई बागमती प्रदेशको सचिव बनाउने तयारी थियो। तर, अन्तिम अवस्थामा बनाइएन। जसले गर्दा साथीहरूमा निराशा छाएको छ,’ थापानिकट एक नेताले भने। युवा संघको विवादले पनि थापा समूह थप निराश बनेको हो। युवा संघको कार्यसमिति पुनर्गठन गर्दा थापा पक्षले आफूहरू पेलिएको महसुस गरेको छ। युवा संघको विवाद अझै मिलेको छैन। थापानिकट केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘देशभर नेटवर्क बनायौँ तर युवा संघ लगायतमा एकलौटी भएपछि साथीहरूमा निराशा छाएको साँचो हो।’

गृहमन्त्री थापा समूह केन्द्रीय समितिमा पनि अत्यन्त कमजोर छ। ओलीले घोषणा गरेको एक हजार पाँच सय एक जनाको केन्द्रीय समितिमा थापा पक्षका केन्द्रीय सदस्य २२ जना मात्र रहेको ती नेताले बताए। ओलीले पूर्वमाओवादी नेताहरूलाई प्रतिबद्धताअनुसारको जिम्मेवारी र विश्वास नगरेपछि उनीहरू चिढिएका हुन्। पार्टी विभाजनका बेला आफूलाई साथ दिँदै आएका नेताहरू सबै प्रचण्ड-नेपालतिर नै छाडेर ओली समूहमा लागेका थापाले तल्लो तहका कार्यकर्तालाई आफूतिर तान्न पद दिलाउने बाचा गरेका थिए। तर, अहिले एक जनालाई पनि बाचाबमोजिमको जिम्मेवारी उनले दिन सकेका छैनन्।

‘बादल दाइले जसरी पनि मिलाउँछु भन्नुहुन्थ्यो,’ थापानिकट एक नेताले भने, ‘तर, नतिजा अर्कै आयो। यसले आशंका जन्माएको छ। सबै कुरा टुंगिसकेपछि उहाँले कसरी मिलाउनु हुन्छ ?’ ७७ वटै जिल्लामा गठन गरिएको भूमि समस्या समाधान आयोगको अध्यक्ष र विज्ञ सदस्यमध्ये एक पद आफूले पाउनुपर्ने थापाको अडान थियो। त्यसैअनुसार उनले ७७ वटै जिल्लाका नेताहरूको नामावली पठाएका थिए।

तर, एक दुई जनाबाहेक कहीँ पनि थापा पक्षका नियुक्त नभएको श्रेष्ठले बताए। ‘प्रतिबद्धता जनाएको कुनै पनि स्थान नपाउने भएपछि साथीहरू कता कता लाग्छन् थाहा छैन। साथीहरूले गुनासो गरिराख्नुभएको छ,’ केन्द्रीय सदस्य श्रेष्ठले भने। त्यसमाथि ओलीले वामदेव गौतमलाई गृहमन्त्री बन्न प्रस्ताव राखेपछि थापाको समूहमा निराशा बढेको उनीनिकट नेताहरूले बताउँछन्। गौतमले सो प्रस्ताव माने भने थापाले गृहमन्त्री पद छाड्नुपर्ने हुन्छ। जसका कारण थापा अझ सशंकित बनेको हो।

तर, गृहमन्त्री थापा अहिले नै ओलीसँग भिड्ने अवस्थामा नरहेको उनी निकट केन्द्रीय सदस्य नवीन रोकामगर बताउँछन्। ‘अहिलेसम्मको गतिविधि हेर्दा पार्टीभित्र पेलिएको भन्ने केही प्रश्न उठेको छ। तर, परिस्थिति नभड्कियोस् भनेर अहिले नै आमनेसामने नभइ संयमता अपनाएको मात्र हो,’ उनले भने, ‘आमनेसामने गर्दा कतिवटा पार्टी बनाउने ? अहिले पार्टीभित्र प्राविधिक समस्या भएका छन्। मिलाउन सकिन्छ र मिल्छ । यसरी बिकसित घटनाक्रमलाइ हेर्दा आज भोलि जति बेलासुकै ओलीलाइ छोडेको घोषणा गर्न सक्ने बिस्लेषकहरुको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार