राजनीति
दुई चिरा भएको नेकपालाई औपचारिक रूपमा फुटाउने वा एकै ठाउँ ल्याउनेबारे मन्त्रीहरू विभाजित देखिएका छन् । केही मन्त्रीले पार्टी फुटाउन र केहीले पुनर्मिलनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिन थालेका छन् ।
अस्ति शुक्रबारकाे मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूसित प्रधानमन्त्री ओलीले पार्टीबारे राय मागेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद् पुर्स्थापना र विभाजित पार्टीबारे बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग सुझाव मागेकाे पुष्टि गरे ।
स्राेतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र खानेपानीमन्त्री माणि थापाले एमाले ब्युँताउन ओलीलाई सुझाए । ‘प्रचण्ड र माधव नेपालजीहरू एकताकाे घेराभन्दा धेरै पर पुगिसकेकाले अब उहाँहरूसँग मिल्नुभन्दा अर्को पार्टी खोलेर अघि बढ्नुपर्छ भन्नेमा केही साथीबीच एकमत देखियाे’, छलफलमा सहभागी एक मन्त्रीले भने ।
तर, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भाैतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, सञ्चारमन्त्री पार्वत गुरुङ र कृषिमन्त्री पद्मा अर्यालले भने पुनर्मिलनका लागि छलफल अघि बढाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
पार्टी फुटाउने पक्षमा देखिएका मन्त्रीहरूले भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई तत्काल निर्णय लिन दबाब दिइरहेका स्राेतकाे दाबी छ । ‘मन्त्रिपरिषद् बैठकमा मात्र हाेइन, ओलीलाई व्यक्तिगत रूपमा भेटेरसमेत पूर्वमाओवादीका मन्त्रीहरू रायमाझी, थापा र साहले पार्टी फुटाउन आग्रह गरिरहेका छन्’, स्राेत भन्छ, ‘ईश्वर पोखरेललगायत पूर्वएमालेका केही मन्त्री त पहिल्यैदेखि प्रचण्ड-माधव समूहसँग मिल्न नहुने पक्षमै थिए ।’
सर्वाेच्चकाे फैसलासँगै संसद् पुनर्स्थापना भएपछि तत्कालै राजीनामा दिने वा नदिने विषयमा समेत प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग राय मागेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार रायमाझीले तत्काल राजीनामा नदिन सुझाव दिए । ती मन्त्रीका अनुसार राय दिँदै रायमाझीले भनेका थिए, ‘पहिला संसद् खुलाउनुपर्छ । केही महत्त्वपूर्ण विषयमा छलफल पनि गराैँ । उनीहरू (प्रचण्ड-माधव) ले अविश्वासको प्रस्ताव ल्याउने भए भने अर्को पार्टी खोलाैँ ।’
रायमाझीले प्रचण्ड-नेपालसँग एकता गर्नुभन्दा एमाले ब्युँताएर अघि बढनुपर्नेमा जाेड दिएका थिए ।
काठमाडौंमा अस्ति शुक्रबार नै अनेरास्ववियुको कार्यकर्ता भेलामा ऊर्जामन्त्री रायमाझीले संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री ओली कमजोर नभएको दाबी गरेका थिए । त्याे कार्यक्रममा उनले भनेका थिए, अर्काे कुनै पार्टीसँग मिलेर ओलीकै नेतृत्वमा नयाँ सरकार बन्न सक्छ ।
त्यसै दिनकाे मन्त्रिपरिषद् बैठकमा रायमाझीसँगै मन्त्रीद्वय मणि थापा र प्रभु साहले पनि अब अर्को पार्टी खोल्नुको विकल्प नरहेकाे बताए । थापाले प्रचण्ड-माधवसँग पुनर्मिलन गरिए अपमानित भइने बताए ।
उपप्रधानमन्त्री पोखरेलले पनि एमाले ब्युँताउन सुझाए । तर, गृहमन्त्री रामबहादुर थापा भने यसबारे माैन बसेका थिए । उनले सुरक्षा निकायबारे कुरा गरेका थिए । स्राेतका अनुसार प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट सुरु भएकाे छ ।
पार्टी फुटाउन सल्लाह दिएका मन्त्री रायमाझी र थापालाई प्रधानमन्त्री ओलीले ‘तपाईंहरूसँग कति जना सांसद छन्’ भनेर प्रश्न गरेका थिए । रायमाझी, साह र थापाले तत्काल यति नै छन् भन्न सक्ने अवस्था नरहेकाे जवाफ दिए । तर, पार्टी फुटाए प्रचण्ड–नेपाल समूहबाट विद्रोह गरी केही सांसद आउने दाबी उनीहरूकाे थियाे ।
मन्त्रीहरू विष्णु पाैडेल, पद्मा अर्याल, पार्वत गुरुङ, वसन्त नेम्बाङ र प्रदीप ज्ञवालीले भने तत्काल कुनै अलाेकप्रिय निर्णय नगर्न ओलीलाई सुझाएका थिए । विगतमा भएको विवाद, राजनीतिक गल्ती र समस्याका मुख्य विषयलाई समाएर प्रचण्ड–नेपाल समूहसँग छलफल गर्नुपर्ने उनीहरूकाे सुझाव थियाे ।
पाैडेल र पाेखरेलबीच टकराव
उपप्रधानमन्त्री ईश्वर पाेखरेल र अर्थमन्त्री विष्णु पाैडेलबीच मन्त्रिपरिषद् बैठकमा बारम्बार टकरावकाे स्थिति देखिने गरेकाे ती मन्त्री बताउँछन् । शुक्रबार पनि यस्तै भएकाे थियाे । पाेखरेल पार्टी फुटाउने पक्षमा देखिए भने पाैडेल बचाउने पक्षमा उभिए । यस क्रममा उनीहरूबीच केही भनाभनसमेत भएकाे थियाे ।
मन्त्रीहरूकाे राय सुनेपछि प्रधानमन्त्री ओलीले ढुक्कसित संसद्को सामना गर्नतिर लाग्न मन्त्रीहरूलाई आग्रह गरे । अहिलेसम्म केही नभएकाे र अबचाहिँ धेरै हुन सक्ने बताए । ‘अब हुने राजनीतिक घटनाकाे सामना गर्न तयार भएर बस्नुहोस्’ भनी उनले मन्त्रीहरूको ध्यानाकर्षण गराएका ती मन्त्रीको भनाइ छ । बैठकमा ओलीले अन्य राजनीति दलसँग छलफल गर्ने योजना पनि सुनाएका थिए ।