राजनीति
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ । यसको लागि सरकारले आफ्नो तर्फबाट वार्ता टोलीसमेत गठन गरिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग वार्ता हुने बताईरहेको बेलामा आजमात्रै सरकारले आफ्नो तर्फबाट वार्ता टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । सरकारको तर्फबाट वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।
यसअघि नै विप्लवले पनि सरकारसँग वार्ता गर्ने विज्ञप्ती जारी गरिसकेका छन् । उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा आउन चाहेको बताएका छन् । विप्लव नेकपासँग वार्ता गर्नको लागि सरकारको तर्फबाट खानेपानी मन्त्री मणि थापाले पछिल्लो दिनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जनाएको छ ।
आजै केहीबेरमा सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् । विप्लव नेकपाले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।
विप्लव नेकपाका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताए ।