logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिबन्ध हटेपछि विप्लव ब्यस्त, कहाँ के गर्दैछन् ?


  • राजनीति
  • बिहिबार, फाल्गुन २७ २०७७

सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच ३ बुदे सहमति पश्चात् नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव राजनीतिक भेटघाट तथा पार्टीका कार्यक्रममा निकै व्यस्त छन् ।

सरकारी पक्षले नेकपासँग भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र उसका कार्यकर्तामाथि लागेका मुद्दा क्रमश: फिर्ता हुँदै जाने जनाएको छ।

गत साता तीन बुँदे सम्झौता गर्दै उक्त पार्टीले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो।

विप्लव नेकपा अब कस्ता गतिविधिमा संलग्न हुन्छ भन्ने धेरैले चासो व्यक्त गरेको पाइन्छ।

प्रतिबन्ध फुकुवापछि गतिविधिबारे जिज्ञासा राख्दा वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले आफूहरू कार्यकर्ता भेटघाट लगायतका गतिविधिमा अहिले सक्रिय रहेको बताए।

भावी राजनीतिक योजनाबारे उनले भने, “एउटा विषयमा जनमत सङ्ग्रह गर्ने भन्दैछौँ। वैज्ञानिक समाजवाद अथवा संसदीय पुँजीवाद रोज्ने भन्नेबारे विभिन्न प्रकारका राजनीतिक, जनपरिचालन तथा कार्यकर्ता परिचालनजस्ता कार्यक्रम हामी गर्छौँ।”

औपचारिक रूपमा सार्वजनिक ‘विप्लव’ले भने – ‘सरकारसँगको सहमति पालना गर्छौँ’।

तर कतिपयले उक्त पार्टीको राजनीतिक नियत र सम्झौताको प्रतिबद्धतामाथि प्रश्न पनि उठाइरहेका छन्।

तीन बुँदे सम्झौतामा नेकपाका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने र उनीहरूलाई रिहा गर्ने पनि उल्लेख छ।

सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले उक्त प्रक्रिया चाँडै शुरू हुने बताए।

“सरकारको तर्फबाट जे वचनबद्धता भएको छ त्यसअनुसारकै काम हुन्छ र त्यसको शुरूवात भइसकेको पनि छ।

“कानुनी प्रक्रिया भएको हुनाले कानुनी जटिलतालाई ध्यानमा राखेर प्रक्रियाहरू अगाडि बढ्छन् र बढ्ने क्रममा छ,” भट्टराईले थपे।

सरकारसँग सम्झौताअघि नै विप्लव समूहसहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेकपाले संयुक्त रणनीतिक मोर्चा घोषणा गरेका थिए।

“दलाल संसदीय व्यवस्थाको विकल्पमा आमजनतालाई वैज्ञानिक पुँजीवादी व्यवस्थाका बारेमा प्रशिक्षित गर्ने, परिचालित गर्ने तथा देश र जनताका समस्यालाई लिएर सङ्घर्ष गर्ने उद्देश्यले” मोर्चा गठन गरिएको नेता आहुतिले बताए।

“त्यो कायम छ। आआफ्नो पार्टीका कार्यनीतिक वा अन्य प्रकारका नारा हुन्छन् भने आआफ्नो मोर्चा र मञ्चबाट उठाउने कुरा हुन्छ।”

“रणनीतिक संयुक्त मोर्चाको तर्फबाट जुन घोषित कार्यक्रम छ, कार्यविधि छ, अवधारणापत्र छ त्यसकै आधारमा संयुक्त कार्यक्रम अथवा मोर्चा अगाडि बढ्छ,” उनले थपे।

शान्तिपूर्ण राजनीतिमा आएको प्रतिबद्धता जनाए पनि चन्द नेतृत्वको नेकपाको नीति अझै प्रस्ट हुन नसकेको कतिपय राजनीतिशास्त्रीले बताउने गरेका छन्।

प्राध्यापक कृष्ण खनाल भन्छन्, “विप्लवको राजनीतिक लाइन अहिलेसम्म मैले प्रस्ट रूपमा बुझ्न सकिरहेको छैन। वैज्ञानिक समाजवाद भनेर के भन्न खोजेको? साम्यवाद हो भने प्रस्ट भन्नुपर्‍यो नि। अमूर्त कुरा गरेर भएन।”

सरकारसँग गरेको सम्झौतालाई विप्लव समूहले आफ्ना गतिविधि फुकुवा गराउने रणनीतिको रूपमा लिएको भन्दै कतिपयले आउँदा दिनमा पनि उसका गतिविधि शान्तिपूर्ण हुनेमा आशङ्का व्यक्त गर्ने गरेका छन्।

तर नेकपाका नेताले आफूहरू सम्झौताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र शान्तिपूर्ण रूपमै अन्य राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने बताउँछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार