राजनीति
जनता समाजवादी पार्टी (जसपा)का नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका थिए। जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन ।
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकारात्मक बनेको छ । शनिबार पार्टी माओवादीको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा ओली सरकारको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष समेत निकालिएको छ । यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको यादवको भनाइ छ ।
सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँ पुगेका हुन् । केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् ।
अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।
ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा जसपा निर्णायक शक्ति बनेको छ । जसपासँग संसदमा ३४ सिट छ ।