राजनीति
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता सुरु भएकाे छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएकाे हाे ।
ललितपुरकाे सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएकाे भेला भाेलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएकाे छ ।
नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् ।
ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्।
यस्तै भेलाका लागि विभिन्न जिल्लाबाट नेता तगथा कार्यकर्ताहरु उपस्थित भएका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफू इतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।
ओली पक्षले खनाल नेपाल पक्षकाे भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेकाे छ । बैठककाे अध्यक्ष नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएकाे छ । यसैगरी कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।