राजनीति
आन्तरिक रुपमा निकै विवादित बनेको नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच सत्ता साझेदारी तथा मधेस मुद्दा समाधानका लागि समझदारी बन्दै गइरहेको छ ।
विभिन्न चरणमा भएका वार्ता सकारात्मक बन्दै गएसँगै अब सरकारको लागि नयाँ समिकरण बन्ने पक्का पक्की भएको छ । प्रधानमन्त्री ओलीले बिहीवार बालुवाटारमा जसपाका नेताहरूसँग छलफलका क्रममा सत्ता सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो । छलफलमा जसपाका सबै मुद्दा समाधान गर्ने वचन दिएसँगै अब ओलीको पक्षमा जसपा आउने पक्का पक्की जत्तिकै भएको छ ।
सत्ता सहकार्यको प्रस्तावका क्रममा प्रधानमन्त्रीले अध्यक्ष महन्थ ठाकुरलाई सभामुख बन्न आग्रह गर्नुभएको थियो । जवाफमा ठाकुरले आफू होइन वरिष्ठ नेता शरतसिंह भण्डारीलाई सभामुख बनाउन प्रस्ताव राख्नुभएको बताइन्छ ।
यो प्रस्तावलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभएको स्रोत बताउँछ । साथै प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई हटाएर भण्डारीलाई बनाउने र उपसभामुखमा महिला समितिकी सभापति एवं नेतृ निरू पाललाई नियुक्त गर्ने तयारी गर्नुभएको बुझिएको छ ।
बालुवाटार स्रोतका अनुसार भण्डारी र पाललाई अघि बढाउने तयारीमा ओली पुग्नुभएको छ । उहाँले दुबैलाई जानकारी समेत गराइसक्नुभएको छ ।
जसपाले समर्थन गरे संसदमा समेत दुईतिहाइ बहुमत पुग्छ । काँग्रेसको समेत भण्डारीलाई सभामुख बनाउन समर्थन रहने बताईएको छ ।
सभामुख सापकोटाले प्रचण्डको निर्देशनमा सरकारलाई सहयोग नगरेको तथा संसदमा नियम कानुन भन्दा पनि राजनीतिक स्वार्थअनुसार चलेकाले हटाउन लागिएको हो ।
त्यसैगरी मधेसको एजेण्डाका नाममा सत्ताको सिँढी चढ्दै आएका उपेन्द्र यादवलाई तह लगाउन भण्डारीलाई सभामुख नियुक्त गर्न ओली तयार भएका हुन् ।