logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्री सभामुख बिच भेट, के भयाे छलफल


  • राजनीति
  • आइतबार, चैत्र १५ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । बिहान ११ बजेदेखि बालुवाटारमा भएको भेटवार्ता करिब १ बजेसम्म चलेको थियो । सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार आजको बैठक संसदलाई कसरी प्रभावकारी बनाउने र अड्किएर बसेका महत्त्वपूर्ण विधेयकहरु कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रीत रहेको थियो ।
पुनःस्थापनापछि संसद बैठक कार्यसूची अनुसार अघि बढ्न सकेको छैन भने सरकारले पनि संसद्लाई बिजनेस दिन सकेको छैन ।

संसद्लाई प्रभावकारीरुपमा अघि बढाउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउने तयारी पनि गरेका छन् । आजको बैठकमा सापकोटाले सो विषयमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।

दूरी मेटिने आशा

पछिल्लो पटक भदौको दोस्रो साता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो । लामो समयपछि भएको प्रधानमन्त्री र सभामुखबीच भेटवार्तालाई कार्यपालिका र व्यवस्थापिकाबीचको दूरी घटाउने प्रयासको रुपमा हेरिएको छ । अध्यादेश ल्याएर सरकारले संवैधानिक पदहरुमा नियुक्ति गरेपछि दुई निकायबीच द्वन्द्व शुरु भएको थियो । सरकारले संसद् विघटन गरेपछि कार्यपालिका र व्यवस्थापिकाबीचको द्वन्द्व उत्कर्षमा पुग्यो । अध्यादेश ल्याएर सरकारले संवैधानिक पदमा गरेको नियुक्तिको विरोधमा सभामुखले सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेका थिए ।

प्रधानमन्त्री र सभामुखबीचको द्वन्द्वको असर पुनःस्थापित संसद्मा देखिएको थियो । सरकारको चाहनाअनुसार सभामुखले संसद् बैठकलाई अघि नबढाउने र सरकारले पनि संसद्लाई बिजनेस नदिएर प्रभावहीन बनाउने स्थिति पैदा भएको थियो । आजको भेटघाटले संसद्को ‘डेडलक’ लाई अन्त्य गर्ने आशा बढाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार