राजनीति
नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जसपाले समय मागेपछि आजको बैठक बिनानिष्कर्ष सकिएको हो
नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल जसपाका नेताहरु ढिला गरी सुरु भएको छ । जनता समाजवादी पार्टी नेपालका नेताहरु ढिला गरी बैठकमा पुगेकाले ३ बजे बस्ने भनेको बैठक एक घण्टा ढिला गरी मात्र शुरु भएको थियाे ।
देउवाले बोलाएको छलफलमा सहभागी हुन हिँडेका जसपाका नेताहरु बाटोमै छलफल गर्न बसेका थिए । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् । स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका थिए ।
बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगेका थिए । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानीलकण्ठ पुगेका हुन् । त्यस्तै काँग्रेसका शीर्ष नेता पनि देउवा निवास पुगेका थिए ।
सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् ।