राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित हुने भएका छन् । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा सन्दर्भमा कुनै खबर, जानकारी नगराएकाले उपस्थित हुन वाञ्छनीय नरहेको दाहालनिकट स्रोतले जानकारी दियो ।
स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बिहान दाहाललाई फोन गरेर भेट्न आग्रह गरेका थिए ।
“प्रचण्ड कमरेड बिहान कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटनमा हुनुहुन्थ्यो, त्यतिबेला फोन गर्नुभएको थियो । फोनमा उहाँले तपाईं, म शेरबहादुर देउवाजी बालुवाटारमा बसौँ, कुराकानी गरौँ भन्नुभएको थियो,” स्रोतले भन्यो, “प्रचण्डले बालुवाटारमा होइन भेट्ने हो भने सिंहदरबार तय गरौँ भनेपछि कुराकानी टुङ्गिएको थियो । पछि सर्वदलीय बैठक भनेर हल्ला भयो । यसबारे प्रचण्डसँग कुनै कुरा भएको छैन ।”
सर्वदलीय बैठक भनेर खबर नगरिएकाले प्रचण्ड सहभागी हुन अनुपयुक्त रहेको निष्कर्षमा पुगेकाे स्रोतको भनाइ छ ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि बैठकबारे जानकारी नगराएको उनले बताए । “आजको बैठकको विषयमा केही पनि थाहा छैन । खबर छैन । बोलाएको भए पनि त्यो नाटकमात्रै हो । त्यसले कुनै निकास दिनेवाला छैन,” खनालले बाह्रखरीसँग भने ।
यता, माधवकुमार नेपाललाई पनि बैठकबारे जानकारी छैन । “एक त माधवकुमार नेपाल ओलीले बोलाएको बैठकमा जानुहुन्न । अर्को, उहाँलाई त ओलीले निलम्बन गर्नुभएको छ क्यारे, किन खबर गर्नु ?,” नेपालनिकट स्रोतको भनाइ छ ।
महन्थ ठाकुरले आजको सर्वदलीय बैठकमा अमेरिकी सहायता परियोजनाअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल हुने बताएका छन् ।