logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मुख्यमन्त्रीकाे सपथ राेक्न ४० सांसदले बुझाए हस्ताक्षर, हेर्नुस् [नामसहित]


  • राजनीति
  • आइतबार, बैशाख १९ २०७८

लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसंग माग गरेका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले आइतबार मात्र आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन् ।

तर पोखरेलले आफूसंग ४१ सांसदको बहुमत रहेको दावी गर्दै एकल वहुमतको सरकारको मुख्यमन्त्रीमा नियुक्ति र सपथको तयारी गरेका थिए ।

मुख्यमन्त्रीको यस्तो तयारीपछि दाङ ३ (ख) बाट निर्वाचित वलीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी थिइन् । वलीको निर्णयसंगै हाल ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत गुमेको छ । प्रदेशसभामा एमालेको सांसद संख्या ४० मात्र पुग्छ ।

एमालेको बहुमत गुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेर पुनः मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न आग्रह गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

‘शंकर पोखरेलजीले एकपछि अर्को बेइमानी गर्नुभयो, बहुमत गुमाइसकेपछि पनि बहुमतमा छु भनेर प्रदेश प्रमुखलाई ढाँट्नुभयो, विशेष अधिवेशन पनि अन्त्य गराउनुभयो’ घर्तीले भने, ‘अब उहाँसंग होइन, हामीसँग बहुमत छ, हामीले सरकार बनाउंदैछौं भन्ने जानकारी प्रदेश प्रमुखलाई गरायौं ।’

अब चार दलको वैठक बसेर संविधानको धारा १६८ उपधारा २ अनुसार गठवन्धन सरकार बनाउने दावी लिखित रुपमा बुझाउने घर्तीले बताए ।

वलीले माओवादी केन्द्र्र रोजेपछि ८१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनमा ४१ सांसद पुगेका छन् । जसमध्ये एक जना सभामुख छन् ।

संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार