logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जनता भाेकमरिले छटपटाई रहेका छन् छिटो राहत प्याकेज बितरण गर : युुवा लिग


  • मुक्ति गैरे,काठमाडौं
  • शनिबार, जेष्ठ १ २०७८

वैज्ञानिक समाजवादी युवा लिग नेपालले आम श्रमजिवी जनताहरुलाई घरमा थुनेर राख्दा भोकले मर्ने स्थिति पैदा हुँदै गएकोले तुरुन्त राहत प्याकेज घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । युवा लिगले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयलाई पठाएको हो । दलाल पुजीँवादी संसदीय व्यवस्थाकै कारण भयावर स्थिति पैदा भएको युवा लिगले ज्ञापनपत्रमा उल्लेख गरेको छ । कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सेवा सम्पूर्ण रुपमा निशुल्क गर्न, यसलाई नाफाखाेरी महाव्यापार बनाउँने चालबाजी बन्द गर्ने उनीहरुले सरकारलाई माग गरेका छन् ।

साथै संचार माध्यम र सामाजिक संजालमार्फत सुचनाको नाममा मृत्युको आतंक उत्पादन हुन पुगेकोले डर, त्रास सबैभन्दा ठुलो रोग बन्न पुगेको भन्दै तथ्यमा आधारित सुचना मात्रै प्रवाह हुने व्यवस्था गर्न युवा लिग नेपालले माग गरे । “विज्ञप्ति जस्ताको त्यस्तै नेपालको राष्ट्रियता,जनतन्त्र र जनजीविका इतिहासकै सबैभन्दा डरलाग्दो गम्भीर संकटबाट गुज्रिरहेको छ। दलाल पुँजीवादी संसदीय व्यवस्था नै सारत: यस स्थितिको मूल कारण हो भन्ने यथार्थ स्पष्टै छ। तसर्थ, यस व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको महाअभियानमा हाम्रो संगठन पनि एउटा सहायक संगठनका रुपमा क्रियाशील छ। यस प्रकारको दिर्घकालीन अभियानका अलावा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समसामयिक सवालहरूमा हाम्रो संगठनले जनसंघर्ष र जनसेवामार्फत् दृढतापूर्वक पहलकदमी लिदै आएको छ। त्यस सन्दर्भमा आज कोभिड-१९ ‘महामारी’लाई निहुँ बनाएर जनतामाथि विभिन्न प्रकारले जति अत्याचार लादिएको छ, ती विषयमा हाम्रो संगठन मुक दर्शक भएर बस्न कदापि सक्दैन। तसर्थ, नेपाल सरकारसमक्ष निम्न मागहरू प्रस्तुत गर्दछौं। यी मागहरु तत्काल सम्बोधन हुने दिशामा पहल नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने यथार्थ पनि स्पष्ट गर्न चाहन्छौं।

मागहरु:
१. आम श्रमजीवी जनताको आधारभूत आवश्यकताको व्यवस्थापनबिना घरमा थुनेर राख्दा भोकले मर्ने स्थिति पैदा हुँदै गएकाले तुरुन्त राहत प्याकेज घोषणा गर।

२. कोभिड – १९ सँग सम्बन्धित स्वास्थ्य सेवा सम्पूर्ण रुपमा निशूल्क गर। यसलाई नाफाखोरी महाव्यापार बनाउँने चालबाजी तुरून्त बन्द गर।

३. निषेधाज्ञापछि निजी अस्पतालहरूले विभिन्न शीर्षकमा धेरै शुल्क लिएको पाइएकोले तुरुन्त अनुसन्धान गरी पहिलेकै शुल्क कायम गरी, स्वास्थ्य क्षेत्रमा निश्चित शूल्क निर्धारणको मापदण्ड बनाई लागू गर।

४. सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमार्फत् सूचनाको नाममा मृत्युको आतंकित उत्पादन हुन पुगेकाले डर र त्रास सबैभन्दा ठूलो रोग बन्न पुगेको छ। त्यसैले अनावश्यक आतंक उत्पादन रोकी सन्तुलित र तथ्यमा आधारित सूचना मात्र प्रवाह हुने व्यवस्था गर।

५. देशैभरि भाडामा बसेका परिवारको निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्ने र बैंक, सहकारी र फाइनान्सको कर्जाको ब्याज र हर्जाना मिनाहा गर्ने व्यवस्था गर।

६. निषेधाज्ञाको बेलामा अति उपभोग्य सम्पुर्ण सामग्रीहरूको सहज रुपमा व्यवस्थापन गर। कृत्रिम महंगी, कालोबजारी, कमिशनखोरी बन्द गर।
७. समुदायलाई घरमा थुनेर सामाजिक समस्या समाधान हुन सक्दैन, त्यसैले समस्या समाधानका निम्ति सही विधिमार्फत् समुदाय सहभागी हुन सक्ने वातावरण सिर्जना गर।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार