राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाएपछि जेठ ७ गते राष्ट्रपतिसमक्ष नयाँ दाबी गर्ने सन्दर्भमा सांसदहरुको दस्तखत सँकलन र १० गते सर्वोच्चमा हालिने रिट निवेदन तयारीवीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेता डा. बाबुराम भट्टराईसहित उपेन्द्र यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरेको तथ्य बाहिर आएको छ ।
विशेषगरी नेपालनिकट केही युवा सांसदले काँग्रेस सभापति शेरबहादुरको नेतृत्वमा नयाँ सरकार बनाउन अनिच्छा देखाएको बुझेपछि उहाँहरुले उक्त प्रस्ताव गर्नुभएको बताइन्छ । नेपालनिकट एकजना नेताले भने ‘भट्टराई र प्रचण्ड माधवलाई अगाडि सारेर जाऊँ भन्नेमा हुनुहुन्थ्यो तर शेरबहादुर मान्नुभएन । मेरै नाममा हुनुपर्छ भनेर अडान लिनुभयो । जुन कुरो एमालेका केहि नेतालाई थाहा छ ।’
उक्त अवस्थालाई नजिकबाट नियालेका एमालेका केही युवा नेताले अहिले आएर आफूहरुले देउवाको नेतृत्वमा हस्ताक्षर नगरेको भन्दै पन्छिनु गलत भएको उनको बुझाई छ । देउवाले चट्टानी अडान लिएपछि ‘त्यसो हो भने ओलीको सर्वसत्तावादलाई फाल्न ठीकै छ त,देउवालाई नै भएपनि अघि सारौं भन्न नेपाल बाध्य हुनुभएको’त्यहि समूहको बुझाई छ ।
त्यतिबेला प्रचण्ड र भट्टराईले नेपाललाई अघि सार्दा एमालेका साथीहरुलाई ऊर्जा मिल्ने भन्दै उक्त प्रस्ताव अघि सार्नुभएको थियो । केही समय अघिसम्म नेपाल-खनाल पक्षमा रहेका ३८ जना सांसदको भावनालाई समेट्न उहाँहरुले उक्त प्रस्ताव गरेको स्रोतको दाबी छ ।