logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुदुरपश्चिममा माओवादी सरकार ढाल्ने तयारीमा एमाले, मुख्यमन्त्री बन्दै थापा


  • राजनीति
  • सोमबार, जेष्ठ ३१ २०७८

आइतबार प्रदेश एक र बागमतीको एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेको दुबै पक्ष एकमत भएर पारित गरे । तर, सुदूरपश्चिम प्रदेशमा आइतबार ओली पक्षका प्रदेशसभा सदस्यहरूले विरोध जनाए ।

मुलुकका अन्य प्रदेशमा एमालेको दुई पक्षबीच एकता देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा पनि एमालेले एकताको लागि आन्तरिक छलफल चलाएको छ । ५२ जना प्रदेश सभा सदस्यमा एमालेका २५ जना प्रदेश सभा सदस्य छन् ।

सभामुख बाहेकका २४ जना मध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना छन् । अहिले प्रदेशमा माओवादी केन्द्रका १३ जना नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

१३ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको बेला एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने आन्तरिक तयारी थालेको छ ।

विगतमा माधव पक्षबाट संसदीय दलका नेता प्रकाश शाह वा पूर्व प्रमुख सचेतक तारा लामा तामाङलाई मुख्यमन्त्री बनाउने बिषयमा छलफल भएको थियो ।

उता ओली पक्षबाट पूर्व मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । तर, दुबै पक्षले एकले अर्कालाई स्वीकार नगर्दा अहिले सम्म एमालेको सरकार बन्न नसकेको हो ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने बिषयमा आन्तरिक छलफल भइरहेको एमाले स्रोतले बतायो ।

‘सभामुख थापा नेपाल पक्षका भए पनि ओली पक्षका सांसदहरू उनलाई स्वीकार गर्न तयार देखिएका छन्, यस बिषयमा नेपाल पक्षका केहि सांसदहरू सकारात्मक देखिएका छन्,’ एमाले स्रोतले भन्यो, ‘सभामुख थापा मुख्यमन्त्री बन्ने अवस्था आयो भने मात्रै सुदूरपश्चिममा एमाले एकढिक्का हुन सक्छ ।’

सभामुख थापाले राजीनामा दिएपछि एमालेका २५ सांसद गणना हुने छन् । जसपाका २ जना सांसदसहित २७ जानको बहुमतले सरकार बन्न सक्ने गरी छलफल भएको छ ।

जसपा भित्रका २ सांसद राजेन्द्र महतो निकट भएको हुँदा एमालेको गठबन्धनमा उनीहरूलाई पनि ल्याउन सहज हुने एमालेको बुझाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार