logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

समिट हाेलेटमा पुनः वार्ता सुरु, काे काे नेताहरु छन् सहभागी ?


  • राजनीति
  • बुधबार, असार १६ २०७८

सत्तारूढ दल नेकपा (एमाले)को एकतामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली लचक भएपछि नेताहरु पुनः छलफलमा जुटेका छन्।

एमाले र माओवादी एकता अगाडिको केन्द्रीय कमिटी ब्यूँताएपछि नेताहरु पहिलो पटक छलफलमा जुटेका हुन्। दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेर २०७५ जेठ २ अगाडिको केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु एकताको पहल गर्दै वार्तामा बसेका हुन्।

एमाले केपी ओली र माधवकुमार नेपाल समूहका नेता ललितपुरको एक होटलमा वार्तामा जुटेको स्रोतको दाबी छ। वार्ता समिट होटलमा जारी छ। वार्तामा ओली समूहका उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, शंकर पोखरेल सहभागी छन् भने नेपाल समूहका पार्टी उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्टसँगै नेता सुरेन्द्र पाण्डे सहभागी छन्।

नयाँ ढंगले पार्टीलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ। एमालेको नवौं महाधिवेशनले निर्वाचित गरेका पदाधिकारीले पार्टी एकताका लागि गम्भीर भएर अगाडि बढ्नुपर्ने भन्दै नेताहरु छलफलमा जुटेका हुन्।

अध्यक्ष ओलीले जेठ २ गते फर्किने भनेर फेरि नयाँ कार्ड प्रयोग गर्न खोजेको भन्दै नेपाल पक्ष अझ सशंकित बनेको छ।

बुधबार एमालेले १० औं महाधिवेशन आयोजक समितिलाई खारेज गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरेको हो अब केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई डाकिएको छ।

आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वत: निस्क्रिय भएको छ। यस्तै बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय गरेको छ। गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

एमाले अध्यक्ष केपी ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त भने अगाडि सारेका थिए।

यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न बुधबार आयोजक कमिटीको बैठक भएको हो।

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । त्यो निर्णयले पाटी फुटको संघारमा पुगेपछि अध्यक्ष ओलीले पुनः पुरानै केन्द्रीय कमिटीलाई सक्रिय गराएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार