logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

मध्यरात एमालेमा नयाँ मोड : माधवलाई अध्यक्ष सहित यस्तो अफर


  • राजनीति
  • बिहिबार, असार १७ २०७८

फुटको डिलमा पुगेको सत्तारुढ दल नेकपा (एमाले) फेरि एक हुने संकते देखिएकाे नेताहरु दावी गर्न थालेका छन्मा ।

केही दिन यता पार्टीका दोस्रो तहका नेताहरुको सक्रियताका कारण बुँदागत रुपमा भएको छलफल सहमति उन्मुख भएको हो ।

असन्तुष्ट पक्षको नेतृत्व गरेका नेता माधव कुमार नेपाल निकट एक नेताका अनुसार नौ बुँदामा छलफल भएको र आठ बुँदामा सहमति भएको छ ।

ती नेताका अनुसार एमालेको संगठन संरचना २०७५ साल जेठमै फर्कने, केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट आएका नेताहरु समेत गरी थप गरिएका ४५ जनालाई अनुमोदन गर्ने, स्थायी समितिका लगिएकाहरुलाई पनि अनुमोदन गर्ने र केही संख्या थप गर्ने सहमति भएको छ ।

त्यस्तै प्रदेश र संघीय सरकारको पुनर्संरचना गर्ने, विभिन्न तहमा बनेका समानान्तर समितिहरु बिघटन गर्ने र त्यसको समायोजनका लागि कार्यदल बनाइने तयारी भएको छ ।

पार्टीको विधान संशोधन गर्दै दुई अध्यक्ष बनाउने, दोस्रो अध्यक्षले संगठनको काम गर्ने, सबै विषयमा सहमति भएपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भै रहेको ती नेताले जानकारी दिए ।

उनका अनुसार बिहीबार नेपाल पक्षका नेताहरुको स्थायी समितिको बैठक बस्ने र शुक्रबार केन्द्रीय समतिको बैठक बसी यसलाई औपचारिकता दिइने तयारी भइरहेको छ ।

शुक्रबार नै एमालेको केन्द्रीय समितिको बैठक बस्दैछ भने बुधबार पनि साँझ अबेरसम्म नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम आचार्य, धनश्याम भुषाल, गोकर्ण बिष्ट छलफलमा जुटेका थिए ।

पछिल्लो पटक मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ट नेता माधव कुमार नेपाललाई नामै किटेर निकै आक्रामक शैलीमा आलोचना गरेका थिए ।

त्यसलगत्तै वरिष्ट नेता नेपालले पनि प्रधानमन्त्री ओलीका आक्षेपको प्रतिबाद गरेका थिए । साथै उनले आफू कुनै पनि हालतमा विपक्षीको गठबन्धन नत्याग्ने पक्षमा रहेको बताउँदै विपक्षीहरुलाई कुनै भ्रममा नपर्न आग्रह गरेका थिए ।

मुख्य नेताहरुको आरोप–प्रत्यारोप र गालीगलौज जारी रहेकै अवस्थामा नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टीको एकता जोगाउन भन्दै विभिन्न चरणमा छलफलमा जुटेका खबर यसअघि पनि आएका थिए, तर सार्थक परिणाम भने प्राप्त भइसकेको छैन ।

तर पार्टीका संगठनात्मक विषयसँग जोडिएका कैयौं निर्णयहरु सुधारका क्रममा रहेका र असन्तुष्ट पक्षका मागलाई पनि समेट्ने गरी विधानमा परिमार्जन गर्न थालिएका छन् ।

वार्तामा सहभागी नेताले एमाले विवाद “आइस ब्रेक” को अवस्थामा पुगेको जनाउ दिएकाले पनि वार्ता निकै सकारात्मक रहेको स्राेत काे दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार