राजनीति
विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले सहमतिअनुसार नेता कार्यकर्ता नछुटेको भन्दै आक्रोश व्यक्त गरेको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोला ‘कंचन’ले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएकोमा ध्यानाकर्षण गराएकाछन ।
सरकार र विप्लव नेतृत्वको नेकपा बीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो, जसमा नेकपा शान्तिपुर्णरुपमा राजनीतिक गतिविधि गर्ने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ । सहमतिअनुसार केही नेता कार्यकर्ता छुटे पनि अझै धेरै कार्यकर्ता छुट्न बाँकी छन् ।
नेकपाका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओलीलाई भेटेर तत्काल कार्यकर्ता रिहाइको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराइएको बताए । आइतबार पत्रकार सम्मेलन गरेर प्रकाण्डले भने, ‘तीन बुँदे समझदारीमा उल्लेखित विषयलाई १० दिनभित्र पूरा गर्न भनेका छौं ।’
प्रधानमन्त्री ओली पनि यसमा सकरात्मक रहेको उनले बताए । प्रकाण्डले भने, ‘प्रधानमन्त्रीले यस सम्बन्धि कार्यको सहजिकरण गर्न परराष्ट्र सल्लाहकार एवं वार्ता समितिका सदस्य राजन भट्टराईलाई निर्देशन दिएका छन ।’