logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीले ‘संकटकाल’ लगाउने खुलासा


  • राजनीति
  • मंगलबार, असार २२ २०७८

प्रतिनिधिसभा विघटनको मुध्दामा सर्वोच्च अदालतको फैसला आउनुअगावै मुलुक नयाँ राजनीतिक कोर्समा प्रवेश गर्ने पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दिलनाथ गिरीले खुलासा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आउनुअगाडि नै अर्को कुनै कदम चाल्ने संकेत पाएको उहाँले दाबी गर्नुभयो ।

भारतीय योजनामा आफूलाई अपदस्थ गर्न खोजिएपछि ओलीले बाध्य भएर नयाँ कदम चाल्न लागेको र त्यसमा राप्रपाको समर्थन रहने पनि उहाँले बताउनुभयो । जनआस्थाका लागि साहस न्यौपानेसँगको भिडियो कुराकानीमा पूर्वमन्त्री गिरीले प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको ट्युनिङ मिलेको र त्यसैको आधारमा नयाँ राजनीतिक परिस्थिति पैदा हुन लागेको दाबी गर्नुभयो ।

नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई उहाँले भारतीय संस्थापन र त्यहाँको कांग्रेस आईबीचको शक्ति टकरावको परिणामका रुपमा विश्लेषण गर्नुभयो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन काँग्रेस आईको भूमिका रहेको र त्यसप्रति भारतीय संस्थापन पक्ष असन्तुष्ट रहेका कारण अहिलेको शक्ति संघर्ष त्यसैमा केन्द्रित रहेको गिरीले बताउनुभयो ।

भारतीय योजनामा आफूलाई अपदस्थ गर्न खोजिएपछि ओलीले बाध्य भएर नयाँ कदम चाल्न लागेको र त्यसमा राप्रपाको समर्थन रहने पनि उहाँले बताउनुभयो ।

भारतको संस्थापन पक्ष गणतन्त्रको बिरुध्द र काँग्रेस आई गणतन्त्रको पक्षमा भएकाले त्यसैको प्रभावले नेपालमा राजनीतिक ध्रुवीकरण बढेको उहाँको दाबी छ । ‘जुन ढंगबाट नेपालमा गणतन्त्र आयो,ओली त्यसको विरुध्दमा हुनुहुन्छ,उहाँ संघीयताको पनि बिरोधी हो । यो श्यामशरणहरुले दिएको गणतन्त्र हो,त्यसैले ओलीजी यसको बिरुध्दमा उभिनुभएको छ । एउटा षड्यन्त्रबाट आएको गणतन्त्र भन्ने बुझेको भएर नै उहाँ त्यसका विरुध्दमा उभिनुभएको हो’, उहाँले भन्नुभयो ।

गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताको मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रधानमन्त्री ओलीबीच समान धारणा रहेकाले पछिल्लो समय आफूहरुको निकटता बढेको उहाँले बताउनुभयो । गणतन्त्रका पक्षमा उभिन भारतको एउटा पक्षको अपेक्षा पूरा नगरेका कारण पार्टीभित्रैबाट ओलीलाई हटाउन खोजिएको नेता गिरीको दाबी छ ।

पाँच जना पूर्वप्रधानमन्त्रीको वक्तव्यले पनि नेपालमा भारतीय हस्तक्षेपलाई स्वीकार गरेको उहाँले बताउनुभयो । काँग्रेस आईको रोडम्यापको गणतन्त्र जोगाउन श्यामशरणको सल्लाहमा पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य दिएको गिरीको आरोप छ । तर,भारतीय संस्थापन पक्ष हावी भएकाले प्रधानमन्त्री ओली बलियो बन्दै गएको र प्रतिनिधिसभा पुनर्स्थापित हुनु अगावै नयाँ कदम चालिए अचम्म मान्नु नपर्ने उहाँले बताउनुभयो ।

‘अब केपीजीका अगाडि एउटै विकल्प छ प्रतिनिधिसभा पुनर्स्थापना हुनुअगावै जुन किसिमको रोडम्याप बनाउनु भएको छ त्यसको ल्याण्डिङ हुन्छ । त्यो मनोविज्ञानबाट काम गरिरहेको देखिन्छ । हिन्दुत्वको कुरा त उहाँले गरिसक्नुभयो । यो मुलुक हिन्दुराज्य हो र यहाँ राजा पनि छ भन्ने उहाँले संकेत गर्नुभएको छ । यो संविधानले मुलुकको हित गर्दैन भन्ने राष्ट्रपति र उहाँ (प्रधानमन्त्री) लाई लागेको हो भने विकल्पमा जान अदालतको फैसला आउनु पहिले नै नयाँ कदम चाल्नुहुन्छ भन्ने आम विश्लेषण छ’, गिरीले भन्नुभयो ।

भारतीय रोडम्यापमा नेपालको राजनीति चलिरहेकाले जो सरकारमा आए पनि परिणाम एउटै आउने गरेको भन्दै उहाँले त्यसमा राप्रपासमेत उत्तिकै दोषी रहेको स्वीकार गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विशेष कदम चाल्ने दाबी गर्नुभएका पूर्वमन्त्री गिरीले त्यसको थप खुलासा भने गर्नुभएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार