logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संसदिय चुनावमा जादैनौ, जनमत संग्रह हुनुपर्छ : विषम


  • राजनीति
  • शनिबार, असार २६ २०७८

नेपाल कम्युनिस्ट पार्टीका नेता केन्द्रीय समितिका सचिवालय सदस्य एवम् केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढा मगर ‘विषम’ले आफ्नो पार्टीले क्रान्तिकारी मूल धारको नेतृत्व गरिरहेको बताएका छन् ।
नेता विषमले जनतालाई व्यवस्था छान्न पाउने अधिकार दिनुपर्ने धारणा राख्दै दलाल पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवाद रोज्ने भन्ने विषयमा जनमतसग्रह गर्दा वैज्ञानिक समाजवाद नै विजयी हुने विश्वास व्यक्त गरे । उनले व्यवस्था छान्ने निर्वाचन जनमत संग्रहमा भने आफ्नो पार्टीले भाग लिने र त्यस्तो चुनाव गराउने उद्देश्यले गठन हुने प्रगतिशील संयुक्त सरकारमा आफ्नो पार्टी पनि सहभागी हुने बताए ।
नेकपा रामेछापले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता बुढाले सो कुरा बताएका हुन् । उनले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आवाज उठाएको र भ्रष्टहरूलाई कारबाही गरेको पुरस्कार स्वरूप आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको बताउदै नेकपा शक्तिशाली बन्दै गएपछि राजनीतिक शक्तिको रुपमा स्वीकार गरेर प्रतिबन्ध हटाउन सरकार बाध्य भएको बताए । पत्रकारको प्रश्नको जवाफ दिने क्रममा नेता बुढाले भने – ‘दमनको प्रतिरोध हुन्छ । सत्ता हतियार लिएर दमन गर्न आयो भने हामी मुड्कीले मात्र प्रतिरोध गर्दैनौँ । जस्तालाई त्यस्तै तरिकाले प्रतिरोध गर्छौं ।’ क्रान्तिकारीहरूका लागि जेल पनि एक क्रान्ति मोर्चा नै रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले ३ बुंदे सहमति कार्यान्वन गर्छ भन्ने विश्वास लिएका छौँ ।’उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज शरद रसाइलीले जनयुद्धको सफलताका कारण समाप्त हुन लागेको राजतन्त्रात्मक संसदीय व्यवस्था पूरै समाप्त हुन दिएको भए त्यतिबेलै मुलुक समाजवादतर्फको यात्रामा अघि बढ्ने बताए । उनले ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारमा थन्क्याएर मात्र राजनीतिक समस्या समाधान हुनेवाला थिएन भन्दै दलाल पुँजीवाद त्यहीँबाट स्थापित हुँदै गएको ठोकुवा गरे । उनले वैज्ञानिक समाजवाद नै दलाल पुँजीवादको एक मात्र र भरपर्दो विकल्प भएकाले जनतालाई व्यवस्था चुन्न दिने जनमतसङ्ग्रहमा नगएसम्म मुलुकमा जारी राजनीतिक सङ्कटको निकास नहुने ठोकुवा गरे ।कार्यक्रममा नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठ, पूर्व सेक्रेटरी अभिलास लगायत जिल्लास्तरीय नेता–कार्यकर्ता सहभागी भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार