राजनीति
भर्खरै सरकारबाट हट्न बाध्य भएको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता बिहिन बनेसगै उनको समूहका सांसदले कित्ता फेर्ने काम हुन थालेको बुझिएको छ । यस्तै उदाहरण बनेको छ ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको रहस्य खुलासा भएको छ ।
भर्खरै मात्रै सपथ लिएका देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन अनुरोध गर्न सुटुक्क बुढानिलकण्ठ पुगेको खबर सार्वजनिक भएको छ ।
गोप्य हिसावले बूढानीलकण्ठ पुगेका ती एमाले सांसदले देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’भनेको बुझिएको छ ।
केही समय अगाडी मात्रै ओली क्याबिनेटमा काम गरेका ती पूर्वमन्त्रीले देउवासँग भने, ‘तपाईलाई एमालेका सांसदको मत चाहिन्छ भने ठिकै छ, चाहिँदैन भने म केही भन्दिनँ ।’
देउवाको निजि निवास बूढानीलकण्ठ स्रोतका अनुसार ओली पक्षका पूर्वमन्त्री देउवा निवासमा आएको पुष्टि गर्यो । तर, गोपनीयताका कारण उनको नाम भने ‘सार्वजनिक’ नगरिदिन आग्रह गर्यो ।
ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका ती एमाले सांसद ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।