logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

किन पुगे भिम रावलसहित विघठित कार्यदलका नेताहरु बालकाेट ?


  • राजनीति
  • शनिबार, साउन २ २०७८

नेकपा एमालेको विघटित कार्यदलका सदस्यहरूले पार्टी एकताका लागि छलफललाई तीव्रता दिएका छन्। शनिवार बिहान बैठक बसेर पार्टी एक बनाउन सक्दो कोसिस गर्ने निर्णय गरेका कार्यदलका सदस्यहरू साँझ पार्टीका अध्यक्ष केपी शर्मा ओली निवास (बालकोट) पुगे। भेटमा विष्णु रिमाल र रघुजी पन्तबाहेक विघटित कार्यदलका सबै सदस्य सहभागी छन्।

उनीहरूले आइतबारका लागि बोलाइएको स्थायी समिति बैठक रोक्न अध्यक्ष ओलीसँग आग्रह गरेका छन्। तर जवाफमा ओलीले बैठक कहिलेसम्म रोक्ने भनेर प्रश्न गरेका छन्। छलफलमा सहभागी नेता गोकर्ण विष्टका अनुसार अध्यक्ष ओलीले तपाईंहरूले छलफल गर्नुस्, सहमति निकाल्नुस्। तर छलफलका लागि भनेर कहिलेसम्म बैठक रोकिरहने हो त्यो पनि भन्नुस् भनेका छन्।

‘हामीले बिहान सिंहदरबारमा गरेको छलफलअनुसार १० बुँदे सहमतिका आधारमा एकता गर्नुपर्छ भनेका थियौँ,’ नेता विष्टले भने, अध्यक्षले एकता गर्ने कुरामा म नकारात्मक छैन, माधव नेपालसँग पनि कुरा गर्नुस्, उहाँले के भन्नुहुन्छ भन्नुभयो। हामीले भोलि (आइतबार) माधव नेपालसित पनि भेट्छौं।’

बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा पार्टी एकताका लागि पार्टी पंक्तिले १० बुँदे सहमतिको अक्षरशः पालना गर्नुपर्ने शीर्ष नेताहरू पनि सहमतिमा आउनुपर्ने निष्कर्ष निस्किएको थियो। बैठकमा उनीहरूले सहमति कार्यान्वयन गरेर अघि बढ्न अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई पालैपालो आग्रह गर्ने निर्णय गरेका थिए।

त्यहीबमोजिम कार्यदलका सदस्यहरूले अहिले ओलीलाई भेटेको र भोलि आइतबार बिहान नेता नेपालसँग छलफल गर्ने कार्यदलका एक सदस्यले बताए। शुक्रवार बसेको एमाले स्थायी कमिटी बैठकले संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाका विपक्षमा मत हाल्ने निर्णय गर्दै यदि कसैले पक्षमा भोट दिन्छ भने उक्त भोट सांसद स्वयंको हुने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार