राजनीति
भर्खरै मात्र सरकार बाट बाहिरिन बाध्य भएको दल नेकपा एमालेमा सर्बस्विकार्य हुनेगरी अध्यक्षको खोजी भैरहेको छ । केपी ओली र माधव नेपालबाहेक तेस्रो अध्यक्षको खोजी गर्दा हालका उपाध्यक्षमध्येबाट खोज्ने पहिलो विकल्प रहेको एमाले नेताहरू बताउँछन् । तर, यसो गर्दा उमेरका हिसाबले एमाले नेतृत्व दोस्रो पुस्तामा सर्दैन ।
नवौँ राष्ट्रिय महाधिवेशनपछि एमालेमा रहेका ५ उपाध्यक्षहरुमध्ये विद्या भण्डारी राष्ट्रपतिको जिम्मेवारीमा छन् । वरिष्ठतालाई आधार मान्ने हो भने भण्डारीबाहेक बाँकी चार जनामध्ये वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीमध्येबाट अध्यक्ष चयन गर्नुपर्ने हुन्छ ।
यधपी नेकपा एमालेमा अघिल्लै महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको विषय जोडतोडले उठेको थियो । त्यस बेला विधानमै ७० वर्ष कटेका नेताहरूले आगामी महाधिवेशनमा चुनाव लड्न नमिल्ने उल्लेख गरिएको थियो । वामदेव गौतम उमेरका कारण अध्यक्ष बन्ने स्थितिमा छैनन् । शाक्य ६८ वर्ष पुगेकी छिन् । यस्तो अवस्थामा उमेरका हिसाबले दोस्रो पुस्ताका नेताहरूले नेतृत्वका लागि कम्मर कस्नुपर्ने अवस्था एमालेभित्र छ ।
दोस्रो तहका नेताहरूमध्येबाट अध्यक्ष खोज्दा ओली पक्षबाट हाल महासचिव समेत रहेका ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल। पृथ्वी सुब्बा गुरुङमध्येबाट खोज्नुपर्ने हुन्छ । त्यस्तै माधव पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त र योगेश भट्टराईसम्म जानुपर्ने हुन्छ ।
आगामी महाधिवेशनअघि नै केपी ओली वा माधव नेपालबाहेक अष्टलक्ष्मी शाक्यलाई अन्तरिम अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा के हुन्छ ? एमालेका एक नेता भन्छन्, महाधिवेशनअघि ओलीले छाड्न नमानेका कारण दुई अध्यक्ष राख्नुपर्ने स्थिति आएको हो । तर, चाँडै महाधिवेशन गरेर एकल अध्यक्षमा जान सकिन्छ ।
त्यसो त एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारी ‘फ्याक्टर’ले पनि काम गर्ने नेताहरू बताउँछन् । पार्टीभित्र विद्यादेवीको पनि गुट छ । खास गरी शङ्कर पोखरेल, ईश्वर पोखरेल लगायतका नेताहरू राष्ट्रपतिसँग नजिक मानिन्छन् जसले गर्दा आगामी अध्यक्षमा उनीहरूलाई ओली र विद्या दुवैको साथ मिल्न सक्छ । तथापि ईश्वर पोखरेल केपी ओलीको रोजाइमा कम पर्न सक्छन् । त्यस्तै सुवास नेम्वाङ पनि ओली पक्षबाट अध्यक्षका बलिया दाबेदार हुन् । विष्णु पौडेल पनि अर्का त्यस्तै दाबेदार हुन् । एमाले नेताहरू जनजातिप्रति उदार हुने हो भने सुवास नेम्वाङपछि पृथ्वी सुब्बा गुरुङको पनि नाम आउन सक्छ ।
माधव नेपाल पक्षबाट अध्यक्षका दाबेदारहरूका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे अध्यक्षका दाबेदार देखिन्छन् । पहिलो पुस्तामै जाने हो भने अष्ट भुसाल र पाण्डे दुबैलाई झलनाथ खनालको समेत साथ रहने देखिन्छ । किनभने, उनीहरू आठौँ महाधिवेशनमा खनाललाई साथ दिने नेताहरू हुन् । यीमध्ये भुसालले माधव नेपालको समेत साथ पाउने सम्भावना छ । तर, नेता नेपाल आफैँ अध्यक्षमा लड्ने सोचाइमा छन् । पार्टीभित्र सम्झौता भयो र आफूले अध्यक्ष छाड्नुपर्ने अवस्था आयो भने नेपालले घनश्याम भुसाललाई समर्थन गर्ने सम्भावना रहेको नेताहरू बताउँछन् । तर, माधव नेपाल पक्षबाट अध्यक्षमा दाबी गर्नेहरूले केपी ओली पक्षका नेताहरूको पनि विश्वास जित्नुपर्ने हुन्छ । र, राष्ट्रपतिको गुटको पनि साथ पाउनुपर्ने हुन्छ । उता, ओली पक्षबाट अध्यक्ष बन्ने हो भने उसले माधव नेपाल पक्षको पनि विश्वास जित्नुपर्ने चुनौती छ ।
यो अवस्थामा को होला त एमालेको सर्वस्वीकार्य अध्यक्ष ? महाधिवेशनको मिति तोक्ने तयारीसँगै पार्टीभित्र यसबारे तातो तातो बहस सुरु भएको नेताहरूको भनाइरहेको छ ।