राजनीति
माओवादी केन्द्रले गण्डकीको प्रदेश प्रमुखमा अमिक शेरचन र प्रदेश २ को प्रमुखमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने प्रदेश प्रमुखका लागि माओवादी केन्द्रले दुइजनाको नाम सिफारिस गरेको हो ।
सरकारले तीन प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने तयारी गरेपछि सत्तारूढ माओवादी केन्द्रले दुईजनाको नाम सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
ओली सरकारले हटाएका शेरचन र परियारलाई पुरानै ठाउँमा नियुक्तिका लागि आग्रह गर्ने माओवादी केन्द्रले जनाएको छ । नेकपा एक हुँदा माओवादीको पक्षबाट सिफारिस भएका गण्डकी प्रदेशसभाका प्रमुख शेरचन र प्रदेश नम्बर–२ का प्रदेश प्रमुख परियारलाई सर्वोच्चको आदेशबाट पार्टी विभाजन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका थिए ।
अहिले उनीहरूलाई पुरानै स्थानमा नियुक्तिका लागि माओवादी केन्द्रले सिफारिस गरेको हो ।
यद्यपि सरकारले कुनैपनि प्रदेश प्रमुखलाई अहिलेसम्म हटाइसकेको छैन । तीन प्रदेश प्रमुखहरु प्रदेश–२ का राजेश अहिराज, गण्डकीकी सीता पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ प्रसाद यादवलाई हटाउने चर्चा चलिरहेको छ ।