राजनीति
नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुने छ । उनले केन्द्रीय विभागहरुले पूर्णता पाउने सम्भावना रहेको बताए । यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने तामाङले बताए ।
आइतबारको बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरे छ । बैठकले काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
त्यस्तै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।
बैठकले आगामी असोजको पहिलो साता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो साता सबै पालिकाहरूमा पालिकास्तरीय पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलका अनुसार साउन २४ गते एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यता नेकपा माओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।
देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।
यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ ।
आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिक रुपमा सरकारमा सहभागी नहुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो । तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ ।