राजनीति
सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको हो। शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। शनिवार बस्ने केन्द्रीय कमिटी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुँदैछ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने एजेण्डा रहेको जानकारी दिएका छन्। शुक्रवार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना नरहेको बताएका थिए। नेता श्रेष्ठले वाम-लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए।
आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा माओवादीले विधानमाथि पनि छलफल गर्ने एजेण्डा तय गरेको छ। आगामी मंसिरमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीको यो केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ।
यही बैठकका विधानमा उल्लेख भए अनुसार केन्द्रीय सदस्यको संख्या थपिन सक्नेछ। यही बैठकबाट माओवादीले आफ्नो नाम परिवर्तन गरेर नेपाल कम्युनिष्ट पार्टी या यस्तै अर्को नाम राख्ने तयारी गरेको छ।
स्थानीय तहदेखि केन्द्रसम्मको पार्टी संरचना सक्रिय बनाउने गरी प्रचण्डले सांगठनिक र राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। तत्काल एमालेको माधवकुमार नेपालसहित अन्य शक्तिसँग एकता सम्भव नभएपछि माओवादीले अहिलेकै अवस्थामा संगठनलाई बलियो बनाएर जाने तयारी गरेको छ।