राजनीति
नेकपा (एकीकृत समाजवादी) नयाँ पार्टीको योजना बनाउन चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक बसिरहेको छ।
निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।
उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको घोषणा गरेका छन्।
नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसोर्टमा जम्मा गरेको हो।
आज र भोलि चन्द्रागिरि रिसोर्टमा रहने गरी नेपाल पक्षले ६० वटा कोठा बुक गरेको थियो। तर सोमबार रातिसम्म निर्वाचन आयोगले मान्यता दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ४६ जना उपस्थित भएका छन्।
बाँकी सातदेखि नौजना केन्द्रीय सदस्यहरु मंगलबार दिउँसोसम्म चन्द्रागिरि पुग्ने जानकारी प्रस्तावित पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले दिएका छन्।
ती ४६ केन्द्रीय सदस्यमा ३२ जना सांसद पनि रहेका नेता साहले जानकारी दिएका छन्। चन्द्रागिरि पुगेका ४६ जना केन्द्रीय सदस्य ०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येका हुन्।
नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ जना केन्द्रीय सदस्य या ३१ जना सांसद भए पुग्छ। बुधबार निर्वाचन आयोगमा हुने सनाखतका क्रममा नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत वारिसनामा पठाउने भएका छन्।