logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

एमसिसीकाे नाममा कांग्रेसले जनतालाई चिउरा कुटे झै गर्न खाेजेकाे छ : पुर्व जर्नेल बस्न्यात


  • राजनीति
  • आइतबार, भाद्र २० २०७८

नेपाली सेनाका पुर्व जर्नेल डा. प्रेमसिह बस्न्यातले विज्ञप्तिको जालो फ्याँकेर साइबर कानुन लगाउने र सडकमा आउनेलाई दमन गर्न खोजिएको बताएका छन् । नेपाली जनता एमसिसीकाे विपक्षमा छन् देउवा सरकार जनतालाई दमन गरेर पतनकाे बाटोमा लागेकाे उनकाे दावी छ ।

नुवाकोटमा एमसीसीका लागि अधिग्रहण गरेको जग्गा स्वागत नेपालको पार्टीले कब्जाको घोषणा गर्नु, जुम्लाबाट विप्लव नेतृत्वको पार्टीले एमसीसीको बिरोध सुरु गर्नु र एमसीसीकी उपाध्यक्ष काठमाडौं आउन लागेकाले गृहमन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले बताए ।

काठमाडौंमा हरेक दिनजसो एमसीसीको बिरोध हुने गरेको र सामाजिक सञ्जालहरुमा पनि बिरोध भइरहेकाले सरकार तर्सिएको बस्न्यातको भनाइ छ । उनले भने, ‘एमसीसी उपाध्यक्ष काठमाडौं आउने कुरा भइरहेको छ, । उहाँ आउनेबेलामा यहाँ बिद्रोहरु हुन सक्छन्, बिरोध हुन सक्छन्, कालो झण्डाहरु देखाउन सक्छन्,  धेरै ठाउँहरुमा बिरोध कार्यक्रमहरु हुन सक्छन्, तोडफोहरु हुन सक्छन् । त्यसैले अहिले सानो एउटा विज्ञप्ति फालिदिएर मान्छेलाई पक्रन, धरपकड गर्नका लागि र अमेरिकीहरुका लागि शान्ति सुरक्षा देखाउने नाटक मञ्चन थालिएको देखिन्छ ।’

अहिले यो विज्ञप्ति निकालेर सरकारले जनतालाई साइबर कानुन लगाउने र सडकमा आउनेलाई पनि कुट्ने पिट्ने योजना बनाएको बस्न्यातले बताए । उनले भने, ‘यो चाँहि पछि गएर देउवा सरकारको पतनको बाटो हो । जनता यति धेरै तातिरहेका छन्, त्यसलाई सरकारले बुझ्नुपर्छ । २०१७ सालमा राजा महेन्द्रले पञ्चायत ल्याउँदा रुकुम रोल्पा, हुम्ला, जुम्लातिर ९० दिनसम्म पनि थाहा थिएन । त्यो जमाना त हैन नि अहिले ।’

उनले थपे, ‘जसरी अहिले कांग्रेसले जनतालाई चिउरा कुटेझै कुट्न खोजेको छ, यसमा यिनीहरुले पुनर्विचार गर्न आवश्यक छ । मैले देखेको, गृह मन्त्रालयको यो सूचनाबाट जनता तर्सनेवाला छैनन् ।’

उनले एमसीसी पास गराउन देउवा र उनका सहयोगीहरु लागिरहेको बताउँदै डा. रामशरण महतको शुक्रबार एक दैनिक पत्रिकामा छापिएको लेखबाट धेरै कुरा प्रष्ट हुने बताए । उनले अहिले सामाजिक सञ्जालमा बिरोध भइरहेको बताउँदै अब सरकारले सामाजिक सञ्जालमा एमसीसीको बिरोध गर्नेलाई साइबर कानुन लगाएर पनि समात्न सक्ने बताए ।

उनले भने, ‘यसको प्रतिफल के हुन्छ भन्ने कुरा उनीहरुले थाहा पाएका छैनन् । अहिले सिंगो देशले एमसीसी चाहिँदैन भनेको छ । अर्को कुरा, यो विषय एमसीसी पास नहोला कि भनेर सरकार डराएको अर्को सूचक पनि हो । एमसीसी सजिलोसँग पास हुँदैन भनेर काँतर भएको संकेत पनि हो । सरकार मनोवैज्ञानिकरुपमा एमसीसी पास गर्न सकिँदैन भन्ने अवस्था पुगेको उनीहरुको विज्ञप्तिले देखाउँछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार