logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

चुनावबारे गठबन्धनमा चर्काे बिवाद, ‘अर्लि इलेक्सन’ कांग्रेसकाे राेजाइ

एकसाथ तीन तहकाे चुनावकाे पक्षमा प्रचण्ड


  • राजनीति
  • मंगलबार, कार्तिक २ २०७८

पाँच दलिय गठबन्धन सरकार बनेकाे तीन महिनामै चुनावकाे चर्चा सुरु भएको छ। सत्तारुढ नेपाली काँग्रेसका शीर्ष नेताले अर्ली इलेक्सनका लागि प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् । गठबन्धनको सरकार सञ्चालनको झमेलामा फस्नुभन्दा अर्ली इलेक्सनमा जान उपयुक्त हुने काँग्रेस नेताहरूको भनाइ छ ।

काँग्रेस नेताहरूले आन्तरिक छलफल मात्र नभई सार्वजनिक मञ्चबाटै अर्ली इलेक्सनको विकल्प नभएको टिप्पणी गर्न थालेका छन् । २०७४ को चुनावमा पराजित भएका काँग्रेसका अधिकांश शीर्ष नेताहरू अर्ली इलेक्सनको पक्षमा देखिएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय सहमति जुटाएर स्थानीय तहको निर्वाचन भन्दा अघि संघको निर्वाचन गर्न सकिने बताउँछन् ।

वरिष्ठ नेता पौडेलले स्थानीय र प्रदेशको निर्वाचनभन्दा संघको निर्वाचन पहिला गर्दा राम्रो हुने बताए । ‘पार्टीका कार्यकर्ताको भावना बुझ्दा स्थानीय र प्रदेशको निर्वाचनभन्दा संघको निर्वाचन पहिला गर्दा राम्रो हुन्छ भन्ने छ, मैले पनि यही मान्यता राख्छु’ पौडेलले भने, ‘पहिला प्रदेश र स्थानीयको चुनाव गरी संघको निर्वाचन गर्दा कार्यकर्ता भाँडिँदारहेछन् ।’

आगामी वैशाखमा संघको चुनाव गर्ने गरी माहौल बनाउनुपर्ने उनले बताए । उनले भने, ‘संघको चुनावका लागि माहौल बनाउन बाँकी छ, स्थानीय चुनाव आइसक्यो । त्यसलाई कति समय सार्न सकिन्छ, कति सार्न मिल्छ, छलफल सुरु गर्नुपर्ला । आगामी वैशाखमा संघको चुनाव गरेर ०७९ मङ्सिरमा स्थानीय तहको चुनाव गर्दा हुन्छ  भन्ने मेरो भनाइ हो ।’

यता सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव राखेको काँग्रेस नेताहरूको दाबी छ । काँग्रेसका वरिष्ठ नेता पौडेलले रातोपाटीसँग भने, ‘हामीले केही समय पहिला प्रचण्डसँग छलफल गर्दा सबै निर्वाचन एकैपटक गरौँ भन्नुभयो । एकैपटक गर्दा कत्तिको व्यवहारिक हुन्छ, हेरौँ भन्ने प्रचण्डजीको भनाइ थियो ।’

डा. शेखरले पनि आफूसँग प्रचण्डले सोही प्रस्ताव राखेको रातोपाटीलाई बताए । कोइरालाले प्रचण्डसँगको कुराकानीबारे जानकारी दिँदै भने, ‘मलाई उहाँले तीनवटा निर्वाचन एकैचोटि गरौँ भन्नुभयो । त्यो सम्भव होला र ? भन्दा हुन्छ भन्नुभयो ।’

तर, आफूले भने तीनै तहको चुनाव एकै पटक सम्भव नदेखेको कोइरालाको बुझाइ छ । देशलाई सही बाटोमा राख्न पहिला वैशाखमा संघको निर्वाचन गर्न जरुरी रहेको कोइरालाले बताए । उनले भने, ‘जसले जे–जे भने पनि प्रदेशको निर्वाचन डेढ वर्षपछि हुने हो । प्रदेश चलिराखेको छ । स्थानीय तहको निर्वाचन भन्दा पहिले केन्द्रको हुनुपर्छ भन्ने मान्यता राख्छु म । अब स्थानीय तहको निर्वाचन आगामी चैत–वैशाखमा गर्नुपर्छ ।’

अर्ली इलेक्सनबारे छलफल भएको छैन : माओवादी

काँग्रेस नेताहरूले अर्ली इलेक्सनको चर्चा गरिरहँदा माओवादीले भने अर्ली इलेक्सनबारे पार्टीमा कुनै छलफल नभएको बताएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले अर्ली इलेक्सनबारे अहिलेसम्म अध्यक्ष प्रचण्डले कुनै छलफल र चर्चा नगरेको बताए । उनले भने, ‘यसबारे पार्टीमा छलफल भएको छैन । हामीले पनि बाहिरको हल्ला सुनेका मात्र हौँ ।’

संविधानले चिन्दैन अर्ली इलेक्सन

प्रमुख दलहरूमा अर्ली इलेक्सनबारे चर्चा– परिचर्चा सुरु भए पनि संविधानमा त्यस्तो व्यवस्था छैन । सर्वोच्च अदालतले बहुमतको सरकार छँदासम्म प्रतिनिधि सभा विघटन गर्न नमिल्ने व्याख्या गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस र ६ ज्येष्ठ गरी दुईपटक गरेको संसद् विघटनको निर्णय बदरको फैसलामै यो कुरा स्पष्टसँग उल्लेख गरिएको छ । अर्कोतर्फ, प्रदेश र स्थानीय तहको चुनावअघि नै आगामी वैशाखमा निर्वाचन गर्नुपर्ने काँग्रेस शीर्ष नेताको जोड रहेता पनि वैशाखअघि नै स्थानीय तहको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

तर, संवैधानिक जटिलतालाई सुल्झाएर भए पनि निर्वाचनमा जान सकिने काँग्रेस नेताहरूको तर्क छ । सर्वदलीय सहमतिमार्फत प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित गरेर अर्ली इलेक्सनमा जान सकिने काँग्रेस नेताहरू बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार