logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रचण्ड विप्लव बिच भेट, सहकार्य गर्नेबारे छलफल


  • राजनीति
  • शनिबार, मंसिर ४ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।

‘छलफलमा प्रचण्ड, विप्लव र महरा कमरेड मात्र बस्नु भएको थियो, दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल भयो,’ स्रोतले भन्यो ।

स्रोतले भन्यो, ‘तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उहाँहरूबीच भएको छ ।’नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको छ ।

महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका लगायतका बिषयमा छलफल भएको बुझिएकाे छ ।

नेकपाका तर्फबाट महासचिव विप्लवले विषयवस्तु प्रस्तुत गरेका थिए । छलफलका क्रममा नेकपाका तर्फबाट महासचिव विप्लव र माओवादी केन्द्रका तर्फबाट प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महरा सहभागी थिए ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए । उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।

तर भूमिगतरुपमा बम विष्फोट, व्यक्ति हत्या लगायतका गतिविधि गरेपछि तत्कालीन सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

पछि सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार