राजनीति
नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । सबैभन्दा बढी मत डा. सशांक कोइरालाले ल्याएका छन् । ३३ सय भन्दा बढी मत ल्याएका उनले काँग्रेसको १४औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत ल्याएका छन् ।
एनपी साउद, बालकृष्ण खाँड, उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक ज्ञानेन्द्रबहादुर कार्की पनि विजयी भएका छन् । शंकर भण्डारी लोकप्रीय मत ल्याई विजयी भएका छन् । उनी काँग्रेसभित्र हिन्दुराष्ट्रको एजेन्डा उठाउँदै आएका छन् ।
अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनिल बहादुर थापा, डा. रामशण महत, दिलेन्द्र प्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दन काफ्ले, दिपक गिरी, सुरेन्द्र राज पाण्डे, पद्म नारायण चौधरी, सञ्जय गौतम, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा पनि विजयी भएका छन् ।
कांग्रेस निर्वाचनमा निर्वाचित मध्य केही चर्चित पात्रहरु बिजयी भएका छन् । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका नेता हुन् । उनी तत्कालीन फोरमको केन्द्रीय सदस्य थिए ।
कांग्रेस प्रवेश गरेपछि लामालाई कांग्रेसले काभ्रे क्षेत्र नं. १ (ख) बाट वाग्मती प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनीमाथि रक्तचन्दन तस्करीदेखि फिरौती र ठेक्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको प्रहरीको आरोप छ ।
पटक–पटक हिरासत बसेका उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरणले समेत मुद्दा लगाएको थियो ।
यस्तै तत्कालीन सभामुख कृष्ण बहादुर महाराकाे विवादास्पद काण्ड बाहिर ल्यायर चर्चामा आएका पत्रकार अजयबाबु सिवाकोटी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।