logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

यस्तो बन्ने छ राष्ट्रिय सम्मेलन पछि माओवादी केन्द्र, हेर्नुस् नयाँ संरचना


  • राजनीति
  • बुधबार, पुष ७ २०७८

दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले भखरै महाधिवेशन सकेका छन भने नेकपा माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । पुस ११ देखि १३ सम्म काठमाडौँमा सो पार्टीको राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय सम्मेलनले माओवादी केन्द्रको अन्तरिम विधान (पहिलो संशोधनसहित) माथि छलफल गरी आवश्यकताअनुसार संशोधनसहित पारित गर्नेछ ।

माओवादी केन्द्रको अन्तरिम विधान २०७३ (पहिलो संशोधन २०७८ सहित) अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ केन्द्रीय समितिको व्यवस्था छ । पदाधिकारीमा अध्यक्षदेखि सचिवसम्म पाँच तह निर्धारण गरिए पनि तहगत सङ्ख्या खुलाइएको छैन ।

माओवादी केन्द्र एकल अध्यक्षात्मक प्रणालीमा छ । त्यसैले अध्यक्षमा एक जनामात्र रहने निश्चित छ । विधानको दफा ११ को (ङ) मा उपाध्यक्ष भने एकभन्दा बढी सङ्ख्या रहनसक्ने सङ्केत गरिएको छ, जसमा ‘एकभन्दा बढी उपाध्यक्षहरू रहेको अवस्थामा..’ भन्ने वाक्यांश छ ।

तर, महासचिवका हकमा भने त्यस्तो सङ्केत नगरिएका कारण महासचिवमा एक जनामात्र रहने आँकलन गर्न सकिन्छ । उपमहासचिव र सचिव भने एकभन्दा बढी रहन सक्ने बाटो विधानमा खुलाइए पनि सङ्ख्या निर्धारण गरिएको छैन ।
मूलधारका अन्य राजनीतिक दलको संगठनात्मक संरचना हेर्ने हो भने नेपाली काँग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको व्यवस्था छ । यस्तै नेकपा एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिवको व्यवस्था छ ।

नेकपा माओवादी केन्द्र बहुपदीय संरचना जाने भए पनि कुन पदमा कति जना रहने भन्नेबारे प्रस्ट भइसकेको छैन । राष्ट्रिय सम्मेलनमा यसबारे छलफल भएर आवश्यकताअनुसार उपाध्यक्ष, उपमहासचिव र सचिवको सङ्ख्या निर्धारण हुन सक्ने सो पार्टीका नेताहरू बताउँछन् ।

यद्यपि, दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक सङ्ख्यामा एक केन्द्रीय कार्यालय रहने व्यवस्था विधानले गरेको छ । यस्तै, केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेतको एक केन्द्रीय सचिवालय रहने व्यवस्था पनि विधानले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार