राजनीति
नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । सम्मेलन नजिकिदै गर्दा पनि पदाधिकारी नटुङ्गिदा अन्याैलता बढेकाे छ । माओवादीमा प्रचण्डकाे बिकल्प छैन भन्ने आम बुझाइ भएपनि उत्तराधिकारी वा अध्यक्ष बाहेक पदाधिकारीमा निकै प्रतिष्पर्धा हुने देखिएकाे छ । अहिले चर्चामा रहेका नेताहरु बर्षमान पुन, जनार्दन शर्मा र कृष्ण बहादुर महराले महासचिवमा दावी गरेका छन् ।
यस्तै नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, जयपुरी घर्ती हितमान शाक्य ओनसरी घर्ती लगायतका नेताहरुले पदाधिकारीमा दावी गरेका छन् । पुन र महरा राेल्पाका हुन भने शर्मा रुकुमका स्थानीय हुन् ।
जनयुद्धको क्रममा डेपुटी समालेका पुन पुर्व अर्थमन्त्री हुन भने शर्मा हालका अर्थमन्त्री हुन् । यस्तै शालिन स्वभावका महरा राेल्पाका भएपनि हाल उनकाे बसाेबास दाङ रहेकाे छ । जनयुद्धको क्रममा राजनीतिक तथा सांगठनिक माेर्चामा कुशलता पुर्वक जिम्मेवारी समालेका महरा पुर्व सभामुख हुन् । सभामुख पदमै रहदा एक विवादास्पद काण्डबाट पद च्युत भएका थिए ।
यस्तै श्रेष्ठ तत्कालीन मसालबाट माओवादी शान्तिपूर्ण राजनीतिक मा आएपछि प्रवेश गरेका हुन् ।
यता माओवादी ले पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए ।
माओवादीको अन्तरिम विधान २०७८ अनुसार केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर प्रदेशमा नौ सदस्यीय र स्थानीय तहमा सात सदस्यीय पदाधिकारी रहेकाले केन्द्रीय समितिमा पनि पदाधिकारी संख्या बढाउनुपर्ने मत माओवादीभित्र छ ।
केन्द्रमा पनि पदाधिकारी संख्या बढाएर ९ वा ११ सदस्यीय बनाउन कसरत भइरहेको नेताहरु बताउँछन् । नेताहरूका अनुसार स्थानीय तह र प्रदेश समितिमा भन्दा केन्द्रमा पदाधिकारीको संख्या बढाउने तयारी छ ।
आफूहरूले आवश्यकताअनुसार विकल्पसहित स्थायी समितिमा सुझाव दिने र त्यससउपर निर्णय गर्ने अधिकार स्थायी समितिलाई नै हुने संयोजक गुरुङले बताए ।
‘राष्ट्रिय सम्मेलनमा अन्तरिम विधान परिवर्तन हुन सक्छ । तर, पदाधिकारी संख्या यति नै बनाउने भनेर नयाँ केही टुंगो लागेको छैन’ गुरुङले भने, ‘विधानत अहिले पनि पाँच सदस्यीय हुन्छ भन्ने नै हो ।’