logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

केपीबारे अमेरिकी गाेप्य रिपोर्ट, बाहिरियाे यस्तो इमेल


  • राजनीति
  • शुक्रबार, पुष ९ २०७८

झूठ या सही जे होस्, मनमा लागेको कुरा बोल्ने र राष्ट्रिय राजनीतिलाई तरंगित पार्ने मामिलामा एमाले अध्यक्ष केपी शर्मा ओली माहिर हुनुहुन्छ । कहिले चितवन–ठोरीमा भगवान राम जन्मिएको दावी त कहिले द्वन्द्वताका बाबुरामकी छोरी अरुको खर्चले विदेशमा पढिरहेको दावी गर्ने उहाँले फेरि त्यस्तै ‘फण्डा’ निकाल्नुभएको छ, पूर्वराजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच भएको पाँच ‘बुँदे सहमति’का नाममा ।

माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रतर्फ इंगित गर्दै ओलीले ‘पाँच बुँदे सहमतिका आधारमा ०६१ माघ १९ को घटना भएको आरोप !’ काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्नो वासिङ्गटन प्रशासन र गुप्तचर निकाय सिआइएलाई गरेको रिपोर्टिङका आधारमा लगाउनुभएको हो ।

तर, उहाँ आफैँचाहिँ कतिसम्मको हुनुहुँदो रहेछ भन्ने कुरा पनि त्यही निकायको रिपोर्ट पढ्दा छर्लंग हुन्छ । हरेक देशमा तैनाथ विदेशी दूतावासले प्राप्त सूचना र सोको विश्लेषणका आधारमा आफ्नो तालुकवाला निकायलाई दैनिक प्रतिवेदन पठाउने गर्दछन् । त्यो विशुद्ध उसको खपतका लागि हुने गर्छ । जसको सम्बन्धित देशसँग कुनै लेनादेना नै हुँदैन ।

ती कूटनीतिक नियोगले पठाएका सबै रिपोर्ट यदि सत्य हुन्थे भने एमाले नेता भीम रावल र कांग्रेसबाट पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई सोझै अमेरिकी एजेन्ट करार गर्नुपर्ने हुन्छ किनकि विकिलिक्सद्वारा छरपष्ट सन् २००९ जुन १८ विहिबार बिहान सवा नौ बजेको एउटा गोप्य रिपोर्टमा भीम रावललाई दूतावासको निकट सम्पर्कका ब्यक्ति भनी किटान गरिएको छ ।

अब दुई ठूला दल एमाले र कांग्रेसले बताउनु प¥यो– के यही हो त वास्तविकता ? केपी ओलीको सबै बोलीका प्रमाण नहुने त देखिँदै आएको हो । प्रमाण मानिने लिखत (आलोपालो प्रधानमन्त्री) त नटेर्ने उहाँ आफैँ परराष्ट्रमन्त्री हुँदा पदीय मर्यादाविपरित विदेशीलाई अनेकन चुक्ली लगाउनुभएको पनि विकिलिक्सले खुलासा गरेको छ ।

विदेश सम्बन्धमा सन्तुलन राख्नुपर्ने परराष्ट्रमन्त्रीकै हैसियतमा उहाँले अमेरिकी राजदूत समक्ष उल्टै आफ्नो पार्टीका नेतामाथि भए, नभएका आरोप लगाउनु भएको छ । हिजो पूर्वराजा र माओवादीहरुले आफ्नो पक्षमा राजनीति पार्नलाई केही न केही गरे वा गरेनन्, त्यो उनीहरुले नै जान्ने कुरा भयो । तर आफ्नै पार्टीका नेताबारे पनि उहाँले नानाभाँती कुरा गर्नुभएको त्यही गोप्य रिपोर्टमा भेटिन्छ, यसलाई के भन्ने ?

नेपालमा जेम्स एफ. मोरियार्टी कार्यरत रहँदाको रिपोर्टअनुसार केपी ओलीले अमेरिकी राजदूतलाई आफ्नै पार्टीका नेताहरु र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबारे नियमित पोल लाउने गर्नुहुन्थ्यो भन्ने तथ्य उक्त रिपोर्टमा छ । उपप्रधान तथा परराष्ट्रमन्त्री रहँदा उहाँ उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो । त्यसक्रममा भेट्न आएका राजदूत मोरियार्टीलाई सन् २००७ को जनवरी २३ मंगलवार, अर्थात् ०६३ साल माघ ९ गते भएभरका नेताबारे झोसपोल लगाउनु भएको हो ।

उहाँले तत्कालिन एमाले नेता वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल, गिरिजाप्रसाद कोइरालावारे गरेका अशोभनीय टिप्पणीवारे आफ्नो रिपोर्टमा राजदूतले लखेका छन्– ‘एमालेका धेरैजसो नेताबारे ओलीमा राम्रो धारणा छैन । उहाँले भन्नुभयो– वामदेव माओवादीको पुच्छर र अविश्वसनीय व्यक्ति हुन् । भरतमोहन अधिकारी अवसरवादी हुन् । झलनाथ खनाल र सीपी मैनाली झण्डै पार्टी फोडुवा हुन् । माधव नेपाल अस्पष्ट छन् ।

प्रायः एमाले नेता देशको हैन, आफ्नो मात्रै हित सोच्ने खालका छन् ।’ ओलीले राजदूतलाई प्रधानमन्त्री गिरिजाप्रसादले आफ्नो फोन नउठाएकोसम्मका गुनासो पोख्नुभएको पाइन्छ । माधव नेपाल प्रधानमन्त्री हुनुभएको सरकारमा भीम रावल गृहमन्त्री नियुक्त भएपछि दूतावासले फेरि आफ्नो देशलाई लेख्यो, ‘उहाँ हाम्रो निकट सम्पर्कको व्यक्ति हुनुहुन्छ ।’ लेखिएको छ,।

अति गोप्य इमेल हो त्यो । सन् २००७ जनवरी २५ को विहान ९ बजेर ४ मीनेट जाँदा राजदूतको तर्फबाट गरिएको ७८ सय ९२ अक्षरयुक्त टेलिग्राम (केवल) मा यो कुरा प्रष्टसँग लेखिएको थियो । अमेरिका मात्र हैन, ओलीले आफ्नो अनुकूलताका निम्ति दुई ठूला छिमेकी भारत र चीनका पार्टी एवं सरकारी नेतासामु एमाले पार्टीभित्रको आन्द्राभुँडी छताछुल्ल पार्र्दै समकालीन सहयोद्धाहरुको उछित्तो काढ्नुभएका प्रमाण त अझ कति छन् कति ! जनआस्थाबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार