राजनीति
केन्द्रीय सदस्य घाेषणा गर्दै आइतबार साँझ प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावित केन्द्रीय सदस्यमध्ये चाेर नाम राखेर दुइजना उपसभामुखलाई केन्द्रीय सदस्य बनाएका छन् ।
संसदिय परम्परा अनुसार सभामुख उपसभामुख वा राष्ट्र प्रमुख उपप्रमुख हुदा पार्टीको साधारण सदस्यबाट राजिनामा दिनुपर्ने हुन्छ । तर हिजाे प्रज्ञा भवनमा नाम पढ्दै गर्दा प्रचण्डले दुई सांकेतिक नाम राखेर उपसभामुखलाई केन्द्रीय सदस्य बनाए । २ आदिवासी जनजातितर्फको नाम पढिरहँदा उनी केहीबेर अड्किए । उ…तामाङ । थर प्रष्ट भयो, तर नाम प्रष्ट भएन ।
नामहरु पढ्दै जाँदा प्रचण्ड आदिवासी जनजातितर्फको युवा क्लष्टरमा पुगे । त्यहाँ उनले अर्को एउटा नाम पढे– आर तामाङ । र, भने, ‘अघिको त्यो उ… तामाङ भनेको यही हो ।’ प्रचण्डले यसो भन्दै गर्दा बन्दशत्रमा हाँसो गुञ्जियो ।
प्रचण्डद्वारा केन्द्रीय सदस्यमा नाम घोषणा गरिएकी आर तामाङ राधिका तामाङ हुन् । उनी वागमती प्रदेशसभाकी उपसभामुख छिन् । संसदीय परम्परामा सभामुख, उपसभामुख बनेपछि पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिने र पछि संसदीय जिम्मेवारीबाट पदमुक्त भएपछि पुनः पार्टीको जिम्मेवारीमा फर्कने प्रचलन छ ।
त्यसो त माओवादीको केन्द्रीय कमिटीमा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्ट पनि छानिएकी छन् । अध्यक्ष प्रचण्डले उनको नाम पनि ‘पी घर्ती’ भनेर छोटकरीमा वाचन गरेका छन् । फर्जी नामबाट उपसभामुखहरुलाई पार्टीको केन्द्रीय कमिटीमा समावेश गर्ने यो नयाँ अभ्यास हो ।