logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डकाे लिष्टमा महासचिव काे ? यस्तो छ अध्यक्षकाे तयारी


  • राजनीति
  • शनिबार, माघ २२ २०७८

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय समिति बैठकअघि पार्टीका केन्द्रीय पदाधिकारी र अन्य कमिटीमा सहमति जुटाउन नेताहरूसँग परामर्श गर्ने भएका छन् । त्यसका लागि प्रचण्डले मुख्य गरी अर्का नेता नारायणकाजी श्रेष्ठसँगको छलफललाई प्राथमिकतामा राखेका छन् । त्यो बाहेक अन्य केन्द्रीय सदस्य र सहयोद्धाहरूसँग राय सुझाव लिइरहेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

उनले सहमतिबाटै पदाधिकारी चयन गर्ने तयारीमा अध्यक्ष प्रचण्ड रहेको भन्दै त्यसको गृहकार्यमा अध्यक्ष प्रचण्ड जुटेको जानकारी पाएको बताए । ‘अहिलेसम्म सहमतिकै लागि प्रयास भइरहेको छ’, सापकोटाले भने, ‘सहमतिबाटै अघि बढ्नुपर्छ भन्ने धेरै केन्द्रीय सदस्यको भनाइ छ, नभए मतदानमा जाने अर्को विकल्प पनि खुला नै छ ।’

प्रचण्डको निजी सचिवालयले पनि सामान्य राय सुझाव लिने क्रम निरन्तर भइरहेपनि ठोस छलफल हुन बाँकी रहेको जनाएको छ । ‘केन्द्रीय समिति बैठक लगायतका विषयमा नेताहरूसँग आजभोलि भित्र नै अध्यक्षले छलफल थाल्ने कुरा बुझिएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए ।  

सो पार्टीको गत पुस १८ गते सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्षमा चयन गरेको थियो । त्यसबेला नेता वर्षमान पुन चीनमा उपचाररत रहेकाले उनी स्वदेश फर्केपछि बस्ने अर्को बैठकले अन्य पदाधिकारी चयन गर्ने माओवादीले घोषणा गरेको थियो । तर, पुस २५ गतेलाई बोलाइएको दोस्रो बैठकमा नेता पुन नफर्किसकेको र कोरोना सङ्क्रमणबाट शीर्ष नेता नै पीडित हुन थालेपछि बैठक सारेर माघ ८ लाई पुर्‍याइएको थियो । उक्त मितिमा समेत बैठक बस्न सकेको थिएन । नेता पुन गत माघ १० गते स्वदेश फर्किसकेका छन् । नेता पुनले स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटे स्वीकार्ने र मतदान भए आफूले महासचिवमा उम्मेदवारी दिने बताइसकेका छन् ।

नेकपा माओवादी केन्द्रमा महासचिव पदका लागि दुई जना बलिया दाबेदार देखिएका छन् । सुरुमा महासचिवको आकाङ्क्षीमा धेरै नेताहरू देखिए पनि पछिल्लो समय खासगरी वर्षमान पुन र जनार्दन शर्मा महासचिवको दावेदारीबाट पछि हटेका छैनन् । महासचिवमा दाबी गरिरहेका पुन र शर्मा अध्यक्ष प्रचण्डका विस्वासपात्र समेत मानिन्छन् । दुवैलाई सहमतिमा ल्यउन प्रचण्डले प्रयास गरिरहेका छन् । तर दुवै नेता आफ्नो अडानबाट पछि हटिनसकेकाले उनीहरुलाई मनाउने प्रयास जारी रहेको खुमलटार स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड मतदान गर्नुभन्दा सहमतिमै पदाधिकारी र प्याकेजमा स्थायी कमिटी र पोलिटब्युरो चयन गर्न चाहन्छन् । त्यसका लागि उनले नेता नारायणकाजी श्रेष्ठसँग हाइकमाण्डको सहमति गर्नेछन् । ‘सहमतिमै भए राम्रो भन्ने अध्यक्षको बुझाई छ । तर सहमति जुट्नै सकेन भने मतदान हुने त स्वाभाविक भयो तर मेरो बुझाइमा पदाधिकारी सहमतिबाटै चयन हुन्छ’, प्रचण्ड निकट मानिएका नेता शक्ति बस्नेतको भनाइ छ । अर्का एक नेता भन्छन्, ‘पहिला नेकपामा ओली र प्रचण्ड जस्तै हाल माओवादीमा प्रचण्ड र नारायणकाजीको अवस्था छ । त्यसैले पहिलो सहमति नै प्रचण्डले नारायणकाजीबाट जुटाउने प्रयास भइरहेको ।’ ती नेताका अनुसार नारायणकाजीसँग पदाधिकारीसहित अन्य पार्टी कमिटीमा पनि सहमति जुटेमात्रै अघि बढ्ने प्रचण्डको मनसाय देखिन्छ ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार