राजनीति
सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताका विषयमामात्र छलफल भएको बताएपनि नेताहरु विदेश भ्रमणबारे पनि छलफल भएको छ।
भारत भ्रमणका क्रममा दिएको एउटा अन्तर्वार्ताका कारण बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिरक्षात्मक स्थितिमा पुगे। त्यो थियो, हिन्दूस्तान टाइम्सलाई दिएको अन्तर्वार्ता।
अन्तर्वार्ताकार प्रशान्त झाले प्रचण्डसँग सोधेका छन्, ‘एमालेसँग पार्टी एकता हुँदा खास के विषयमा सहमति भएको थियो? ओलीले दुई बर्षभित्र तपाईंलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष वा दुबै दिन्छु भनेर प्रतिवद्धता व्यक्त गरेका छन्?’
यो प्रश्नमा प्रचण्डले निकै छोटो उत्तर दिएका छन्। प्रचण्डले भनेका छन्, ‘समझदारीको मर्म ती दुई मध्ये एक (दिने भन्ने) छ।’ झाले यससँगै पुरक प्रश्न गरेका छन्, ‘यदि उनले पुरा गरेनन् भने!’
प्रचण्ड यो प्रश्नको उत्तर दिने क्रममा भनेका छन्, ‘त्यसपछि हामी विचार गर्नेछौँ। हालका लागि हामी निकै सतर्कताका साथ अघि बढिरहेका छौँ। म त्यही भावनाका साथ अघि बढिरहेको छु। यो कुरा मैले भारतीय नेताहरुलाई पनि भनेको छु।’
हो, प्रचण्डको यही अभिव्यक्तिको विषयलाई लिएर आजको बैठकमा प्रश्न उठ्यो। बैठकको विस्तृत विवरण त प्राप्त भएको छैन। तर, स्रोतका अनुसार, नेताहरुले प्रचण्डलाई र्याखर्याख पारेपछि प्रचण्डले जवाफ दिए, ‘अन्तर्वार्तामा जे कुरा प्रकासित भएको छ, मैले त्यसरी बोलेको होइन। अन्तर्वार्ता लिनेले बिगारेर प्रकासित गरिदिएछ।’
सचिवालय सदस्य बामदेब गौतमले आजको बैठकमा पार्टी एकताबारे महासचिवको प्रतिवेदन बाहेक नेताहरुले विदेश भ्रमणका विषयमापनि छलफल भएको बताए।
‘अध्यक्ष ओलीले बिमस्टेक सम्मेलन, प्रचण्डले भारत भ्रमण, माधव नेपालले अमेरिका भ्रमण र ईश्वर पोखरेलले लेवनन-पोल्याण्ड भ्रमणबारे जानकारी गराउनुभयो’ गौतमले भने, ‘बैठकले सबै सम्मेलन र भ्रमणहरु सफल भएको, सम्बन्धलाई सुदृढ बनाउन भूमिका खेलेको निष्कर्ष निकालेको छ।’
नेपाल खबर अनलाइन बाट साभार