logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

विप्लवको कार्यदिशा समुन्द्रकाे ‘जेली फिस’ जस्तै भयाे : कञ्चन


  • राजनीति
  • शनिबार, असार ४ २०७९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले सबैभन्दा पहिला महिलालाई सम्पत्तिमाथिको अधिकारको सुनिश्चितता हुनुपर्ने बताएका छन् । बुटवलमा शुक्रबार आरम्भ भएको अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को राष्ट्रिय भेलामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पार्टीका संयोजक कञ्चनले ‘दलाल पुँजीवादले सम्पत्तिको लोभले महिलालाई ज्युँदै आगो लगाउँछ । अहिलेको सत्ताले महिलालाई बिक्री गर्दछ । जबसम्म कुनै देशमा एउटा मात्रै नागरिक उत्पीडनमा हुन्छ, त्यो देश मुक्त हुँदैन । त्यसैले हाम्रो पार्टीले स्पष्ट प्रकारको कार्यदिशा, कार्यनीति र कार्यक्रम बनाएको छ । मुगुका महिलाको औसत आयु ३४ वर्ष रहेको छ । घरमा गरिएको श्रमको मूल्य महिलाले पाउँदैनन् । चीनमा एड्गर स्नोले फोटो खिच्नुभएको छ जसमा आमाबुबाले आफ्नी छोरीलाई एक छाक खानका लागि एक रात बेचिदिन्छन् । समाजवाद नहुँदासम्म त्यहाँ त्यस्तो दयनीय अवस्था थियो । सम्पत्ति महिलामा हुन्थ्यो भने पुरुष र महिलाले आधीआधी काम गर्दथे ।’

संयोजक कञ्चनले देशभरबाट भेला भएका क्रान्तिकारी महिलालाई सम्बोधन गर्दै अगाडि भने, ‘विप्लवले बनाएको कार्यदिशा भुरुङ नाचेको जस्तो भयो अथवा समुद्रको जेली फिसजस्तो भयो । हामीले त्यसलाई मेरुदण्ड भर्ने वा आकारप्रकार दिने कोसिस ७ वर्षसम्म गर्यौँ तर सम्भव भएन । जेली फिस जेली फिस नै रह्यो । विप्लवजीले अहिले म कुनै पनि अवस्थामा संसदीय व्यवस्था मान्दिनँ भन्न थाल्नुभएको छ । त्यस्तो कुरा त चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, सीपी मैनालीहरूले तीसौँ वर्षदेखि भन्दै आएका छन् । मुखले भन्ने र गर्ने कुरा फरक भयो । अहिले संसदीय व्यवस्थाको चुनावमा जानु भनेको वर्तमान संविधानलाई स्वीकार गर्नु हो । विधिगत रूपमा विप्लवजीले संसदीय व्यवस्था मान्नुभएको छ । त्यसैले जसरी विप्लवहरू संसदीय व्यवस्थामा प्रवेश गरेका छन् त्यहाँबाट बाहिर आउन सक्दैनन् । त्यसैले विप्लवजीको पछाडि लागेर समाजवादी क्रान्ति सम्भव छैन । अहिले हामीले क्रान्तिकारी कार्यदिशा बनाएका छौँ । त्यसैले नेपालका शोषित–पीडितहरू हाम्रो पार्टीमा लामबद्ध हुने प्रक्रिया सुरु भएको छ । यो राष्ट्रिय भेलामा तपाईंहरू यस्तो बर्सात्मा पनि देशैभरिबाट आउनुभएको छ । यो क्रान्तिकारी स्पिरिट हो । क्रान्ति सफल पार्ने लक्षण हो ।’

नेता कञ्चनले अगाडि भने, ‘एमसीसी पास भयो । किन भयो भने देश स्वाधीन नभएकाले । त्यसैले हामीले स्वाधीन सरकारको कुरा गरेका छौँ । समाजवादी, साम्यवादी सत्ता निर्माणका लागि जाने बाटो भनेका छौँ । अहिले ठमेलका महिलालाई मसाज गराउन थाइल्यान्डका महिलाहरू ल्याइएको छ । जनयुद्धका क्रममा अमेरिकाबाट महिला पत्रकार लि अनेस्टो आएकी थिइन् । उनले नेपालमा जनयुद्ध सफल भए संसारभरि समाजवादको सन्देश दिन सकिन्छ भनेकी थिइन् । पहिलो कुरा संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, शान्ति, सामाजिक रूपान्तरण, स्वाधीनता र समृद्धि भएमा हामी स्वाधीन संयुक्त सरकारमा जान्छौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार