राजनीति
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाहिर जति एकअर्काप्रति कठोर देखिएको छ, उत्ति नै भित्रभित्र सम्वाद बाक्लिएको छ । स्थानीय तह चुनावपछि माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा देखियो । नेपाली कांग्रेस र एमाले दुवैका लागि चुनावी तालमेलमा माओवादी आवश्यक निर्णायक शक्तिका रुपमा देखा परेपछि कांग्रेस-एमालेको तानातानमा पर्न थालेको छ ।
अहिलेको सत्ता गठबन्धन कायमै रहे आगामी मंसिरमा हुने संघ तथा प्रदेश चुनावमा एमाले कमजोर हुन सक्ने आंकलनपछि एमाले नेताहरू माओवादी नेताहरूसँग भित्रभित्रै लविङमा छन् । औपचारिक रुपमा यी दुई पार्टीका नेताहरूले वाम तालमेलका बारेमा छलफल गरे पनि नेताहरूका तहमा प्रारम्भिक छलफल शुरु भएको छ ।
त्यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले दोस्रो रणनीतिमा जुटेको एमाले उच्च स्रोतको भनाइ छ । ओलीले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसमेतलाई अनेक तरहबाट विभिन्न सन्देश दिइरहेका छन् ।
वाम गठबन्धनको विपक्षमा रहेकाप्रति अलिक आक्रामक हुने र लचिलो बन्ने नेताहरूलाई ओलीले नजिक ल्याउने प्रयास थालेको एमाले स्रोतको भनाइ छ । त्यही क्रममा माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता विष्णु पौडेलबीच वार्ता भएको स्रोतको दाबी छ ।
दुई नेताबीच भएको भेटमा प्रचण्डलाई एमाले नेता पौडेलले केपी ओलीसँग भेट गराउन पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।
गत शनिबार मात्रै एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनबीचमा भेटवार्ता भएको थियो । आइतबार ओलीले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई आफ्नै निवासमा आमन्त्रण गरेर भूराजनीतिदेखि समसामयिक राजनीतिका बारेमा संवाद गरेका थिए ।
एमालेका नेताहरू अहिले माओवादी केन्द्रका नेताहरूसँग नजिक हुने, संवाद थाल्ने र क्रमशः वाम तालमेलको प्रयासका लागि लाग्ने रणनीतिका साथ अगाडि बढेका छन् । एमाले नेता घनश्याम भुसाललगायत नेताहरू वाम एकताको अभियानमै छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डसँगको भेटका बारेमा केही खुलाएका छैनन् । तर, उनले प्रचण्डसँगको भेटवार्तामा आन्तरिक राजनीतिका विषयमा केन्द्रीत रहेर छलफल गरेको एमाले सूत्रहरूले बताएका छन् । विष्णु पौडेलसँग अघिल्लो रात भेटेर भोलिपल्ट गृह जिल्ला चितवन पुगेका प्रचण्डले सत्ता गठबन्धन कायमै हुने प्रतिक्रिया दिएका थिए ।