राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता ओमप्रकाश पुनसहित चार नेताले सामुहिक राजिनामा दिएका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले विहीबार एक संयुक्त विज्ञप्ति जारी गरेर सामुहिक राजिनामा दिएका हुन् ।
पार्टी प्रशिक्षको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेकै बेला नेताहरुले सामुहिक राजिनामा दिएका हुन् । धनगढीमा हुने सुदूरपश्चिमस्तरिय कार्यकर्ता प्रशिक्षणको लागि विप्लव अछाम हुँदै कैलाली पुगेका छन् ।
विज्ञप्तिमा विदलिँदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । “अहिलेको विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं ।
नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्दै व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महशुस गरी तयसैको प्रयासरुवरुप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौ” विज्ञप्तिमा भनिएको छ ।