राजनीति
प्रमुख विपक्षी नेकपा एमालेले बजेट निर्माणमा भएको भनिएको अनधिकृत व्यक्तिको संलग्नता र विवादस्पद हतियार खरिदमा प्रधानमन्त्रीलाई समेत तान्ने संकेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सबै काम अर्थमन्त्री वा रक्षामन्त्रीको मात्र संलग्नता हुन नसक्ने बताएका छन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दद शर्माले २२ असारमा राजीनामा दिएका थिए । यसबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ, जसले मंगलबारदेखि काम थाल्दैछ । एमाले अध्यक्ष ओलीले भने बजेटमा भएको ‘बद्मासी’मा अरु पनि पृष्ठपोषक रहेको बताएका छन् ।
सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रिया कार्यक्रममा ओलीले भने, ‘न हतियार खरिद रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छन्, न बजेटमा यत्रो बद्मासी अर्थमन्त्रीले मात्र गर्न सक्छन् ।’ उनले कसैको नाम त लिएनन्, सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको बताए ।
सम्पादकहरुको प्रश्नको जवाफमा उनले अघि भनेका छन्, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टी जान चाहन्न मेरो विषय बनाउन चाहन्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टी पनि जान चाहन्न । तर जसले चलाए पनि चलाएको त यही हो ।’
शासन सञ्चालनमा प्रधानमन्त्री पत्नी आरजु राणा र उनका भाइको संलग्नताका बिषयमा भइरहेका चर्चालाई बल पुग्नेगरी एमाले अध्यक्ष ओलीले निसाना साँधेका छन् ।
मुलुकको अर्थतन्त्रलाई यसरी नै अधोगतिमा जान दिने हो भने कम्तीमा श्रीलंकाको स्थितिमा पुग्ने उनले बताए ।