राजनीति
नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले यो चुनावमा कांग्रेसले दुर्दशा व्यहोरे पनि अब जुर्मुराउने बताएका छन् ।
‘कांग्रेसलाई यसपालीको चुनाव दुर्दशा सावित भयो तर पछिल्लो समय समर्थकहरु फेरि बढ्नेक्रम जारी छ,’ महामन्त्री कोइरालाले भने, ‘कांग्रेसप्रति बढेको आकर्षणलाई रोक्ने होइन अब बढाउँदै लैजाने हो ।’
अबको ४ वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उनले उद्घोष गरे । कोइरालाले विधान संशोधनमा कांग्रेस गम्भीर भएर लाग्नुपर्ने बताए । कांग्रेसमा बढेको आकर्षणलाई थप ऊर्जा थप्ने गरी कार्यकर्ताको सुझाव चाहिएको कोइरालाको भनाइ थियो ।
कांग्रेस ऐतिहासिक समयमा भएकोले कार्यकर्ताको काँधमा ठूलो जिम्मेवारी आएको कोइरालाले बताए । ‘तपाईंहरुको काँधमा ठूलो जिम्मेवारी छ । यसलाई गम्भीरतापूर्वक बहन गरेर आउँदो दिनमा कांग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने दायित्व आएको छ,’ कोइरालाले भने । कार्यकर्ताको सुझावलाई महासमितिले छलफल गर्ने उनको भनाइ थियो ।