logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार, ओलीले खटाए विशेष दुत


  • राजनीति
  • बुधबार, मंसिर २८ २०७९

प्रमुख प्रतिपक्षि दल नेकपा ऐमालले बाम सरकार र गठबन्धनका लागि माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेकाे बताएको छ। एमालेले प्रचण्डले सत्ता गठबन्धन छाेडे यस्तो सम्भावना प्रवल रहेकाे दावी गरेकाे छ । एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराई लगायत नेताहरुले भित्रभित्र प्रचण्डलाई भेटेर लविङ गरिरहेको एक माओवादी नेताले बताए ।

‘प्रचण्ड कमरेडलाई सत्ता गठबन्धनबाट अलग गराउने रणनीतिका साथ वाम गठबन्धन बनाउन भन्दै भेटघाट जारी राख्नु भएको छ । बरु सरकारको नेतृत्व गर्नुस् हामी समर्थन गर्छौ भन्ने छ,’ ती माओवादी नेताले भने, ‘तर, तत्काल सत्ता गठबन्धन छोड्ने स्थिति छैन । यसैलाई निरन्तरता दिने सोचमा अध्यक्ष हुनुहुन्छ ।’ सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनेमा संघदेखि प्रदेशसम्म एमाले सत्ता बाहिर हुने निश्चितजस्तै छ । यस्तो अवस्थामा एमाले नेताहरु सत्ता गठबन्धन भत्काउने र वामगठबन्धन बनाउने रणनीतिमा लागेका हुन् ।

प्रचण्ड निर्वाचित भएपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर शुभकामना दिँदै सहकार्यको प्रस्ताव समेत गरेका थिए । तर, प्रचण्डले निर्वाचित परिणाम आउने क्रम जारी भएकाले अनुकुल समयमा छलफल गर्ने जवाफ फर्काएका थिए । यस्तै प्रचण्ड निर्वाचित भए लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताले समेत फोन गरेर शुभेच्छा प्रकट गरेका थिए ।

निर्वाचनको स्पष्ट नतिजा आएपछि एमालेका नेताहरु फेरि खुमलटार पुगेर प्रचण्डसँग वाम गठबन्धन र सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । तर, निर्वाचन सत्ता गठबन्धनबाट जित्ने र सरकार एमालेको समर्थनमा बनाउँदा अनैतिक हुने भएकाले यतातर्फ सोच्न नसकिने पक्षमा आफूहरु रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

यस विषयमा एमाले स्थायी समिति सदस्य एवम् ओली निकट नेता राजन भट्टराईले प्रचण्डले कांग्रेससँगको गठबन्धन छोड्न तयार भए सहकार्य गर्न कुनै समस्या नहुने बताए । ‘प्रचण्डजी सत्ता गठबन्धन छोड्न तयार हुनुपर्‍यो । गठबन्धनमा देउवाजीलाई शीरमा राखेर वाम गठबन्धन गर्ने भन्न मिल्दै मिल्दैन । सत्ता गठबन्धन छोडेमा एमाले स्ट्याण्डबाइ छ’ भन्दै भट्टराईले भने, ‘सत्ता गठबन्धन हुँदा प्रचण्डजीसँग कसरी एजेण्डामा प्रवेश गर्न सकिन्छ ? कसरी विश्वास गर्न सकिन्छ ?’

सत्ता गठबन्धन छोडेमा वाम गठबन्धन बनाउने वातावरण बन्ने अवस्था भने रहेको भट्टराईको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार