राजनीति
नेपाली र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि सुरु हुँदैछ। नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यास ‘सूर्यकिरण’को यो १६औं संस्करण हो।
सैन्य अभ्यासमा सहभागी हुन भारतीय सेनाको टोली रूपन्देहीको सालझण्डी आइपुगेको छ। नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यासको १५औं संस्करण गत वर्ष भारतको पिथौरागढमा भएको थियो। अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुने छ। अभ्यास सूर्यकिरणको १३औं संस्करण पनि पिथौरागढमा भएको थियो। १४औं संस्करण कोरोना भाइरस संक्रमणको जोखिमका कारण भएको थिएन।
रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा दुई मुलुकका सैन्य अभ्यास हुनेछ। सैन्य अभ्यासमा दुई मुलुकका सेनाले आतंकवाद, विपद् व्यवस्थापनलगायतका विषयमा अनुभव आदनप्रदान गर्नेछन्। सैन्य अभ्यासमा हिमाली क्षेत्रमा आतंकवादविरुद्धको लडाइँको विधि, उपकरण र प्रविधिलगायत विषयमा अभ्यास र छलफल गर्नेछन्।
सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट भवानी बक्स बटालियनका सैनिक अधिकारीहरू सहभागी हुँदैछन्। शुक्रबार सुरु हुने सैन्य अभ्यास पुस १४ गतेसम्म चल्ने छ।
नेपाली सेनाले अमेरिकी र चिनियाँ जनमुक्ति सेनासँग समेत सैन्य अभ्यास गर्दै आएको छ। कोरोना संक्रमणपछि नेपाली सेनाले भारत र अमेरिकासँग नियमितरूपमा सैन्य अभ्यास गरिरहेको छ। नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भने अहिले रोकिएको छ।
चीनमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले नेपाली र चिनियाँ जनमुक्ति सेनाबीच सैन्य अभ्यास हुन नसकेको नेपाली सेनाका अधिकारीहरूले जनाएका छन्। चिनियाँ पक्षसँग सैन्य अभ्यासबारे नियमित छलफल भइरहे पनि मिति टुंगो नलागेको ती अधिकारीको भनाइ छ।