राजनीति
सत्तारूढ दल (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको स्थायी कमिटीका सदस्यको भेलामा अर्का शीर्षनेता वामदेव गौतम पनि सहभागी भए । भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसमेत सहभागी थिए । तर, नेता गौतमले चाहिँ दुई/चार शब्द बोलेरै माधव नेपाललाई साथ दिए ।
तेस्रो स्थानमा रहेका नेता नेपालको अगुवाइमा भएको भेलालाई ‘चियापान कार्यक्रम’ को नाम दिइएको छे। एक सहभागी नेताका अनुसार भेलामा कसैको पनि लामो भाषण-भुषण भएन, माधव नेपाल र वामदेव गौतमले आफ्ना कुराहरु राखेपछि चियापान र अनौपचारिक गफगाफ भयो ।
भाषण गर्ने कार्यक्रम नभएकाले नेताहरु सहभागी हुने फर्कने क्रम लामै समय चलेको सहभागीले बताए । सबै नेताहरु एकसाथ उपस्थित हुने भन्दा पनि कार्यक्रममा सहभागी भएर फर्कने र आउने नेताहरुको क्रम अघिपछिसम्म चलेको थियो ।
माधव नेपालको असहमति दर्ज
शुक्रबारको भेलामा पूर्वप्रधानमन्त्री मााधवकुमार नेपालले सरकार र पार्टीले राम्रो ढंगले काम गर्न नसकेको भन्दै यसको समीक्षा गर्न जरुरी रहेको बताए ।
आफू विदेश जानेबेलामा पार्टी अध्यक्ष केपी ओलीसँग कुरा गरेको र स्वदेश नफर्किकन प्रदेश कमिटी गठन नगर्ने वचन दिएको नेता नेपालले स्थायी कमिटीका नेताहरुलाई बताए ।
माधव नेपाललाई उधृत गर्दै स्रोतले भनेको छ – ‘अध्यक्षले तपाई स्वदेश नफर्की निर्णय गर्दिनँ भन्नुभएको थियो, तर म नभएका बेला सचिवालयको बैठक बोलाउनुभएछ, सचिवालयको यो निर्णय मलाई मान्न नभएकाले आजै औपचारिकरुपमा असहमति दर्ज गरेको छु ।’