राजनीति
आकस्मिक रुपमा बनेकाे नयाँ सात दलीय गठबन्धनको सरकार बनेसँगै सत्ता साझेदार दलहरुले कार्यकारी पदमा दावी गर्दै आएका छन् ।
उपराष्ट्रपतिमा नेकपा माओवादी केन्द्रले दावी गरेको छ । पार्टीका नेता ओनसरी घर्तीले उपराष्ट्रपतिमा आकांक्षा व्यक्त गरेकी छन् ।
माओवादी केन्द्रले उपराष्ट्रपति पाएको अवस्थामा घर्तीलाई प्रस्तुत गर्नेगरी आन्तरिक छलफल समेत भइरहेको छ । पार्टीका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अन्तिम समयमा मन्त्री पद् छोड्नु परेपछि घर्तीलाई उपराष्ट्रपति दिनुपर्ने आवाज उठेको माओवादी केन्द्रका एक नेताले बताए । घर्ती काठमाडौं- २ बाट पराजित भएकी थिइन् ।
उनले यसअघि प्रतिनिधिसभा सभामुखको जिम्मेवारी सम्हालिसकेकी छन् । घर्ती २०६७ को झलनाथ खनालको मन्त्रिपरिषद्मा युवा तथा खेलकुदमन्त्री बनिन् ।
यस्तै, पार्टी नेतृ जयपुरी घर्तीको नाम पनि उपसभामुखमा चर्चामा छ । घर्तीले यसपटक टिकट पाइनन् । उनले पार्टीले निर्णय गरे मान्ने संकेत गरेकी छन् । घर्ती यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापतिको रुपमा जिम्मेवारी निर्वाह गरिसकेकी छन् । घर्तीसँग महिला मन्त्री बनेको अनुभव छ ।
यस्तै, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीको पनि उपराष्ट्रपतिमा चर्चा छ । उपराष्ट्रपति हुन कम्तीमा ४५ वर्ष पुरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक/ फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गराउनेपर्ने प्रावधान छ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को पदावधि फागुन अन्तिम साता सकिदैछ।