राजनीति
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चाको औचित्य नभएको दाबी गरेका छन् ।
शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरु माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) सहित दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको औचित्य नभएको जिकिर गरे ।
समाजवादी मोर्चा बनाउने नेताहरुसँग आफुले काम गरेको र चिनेकोले डराउनु पर्ने अवस्था नरहेको भन्दै उनले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउनको लागि मात्रै मोर्चा बन्न लागेको बताए ।
उनले भने, “गठबन्धन सठबन्धन हुँदै गर्छ । गठबन्धनले मात्रै नपुगेर एउटा समाजवादी मोर्चाको चर्चा रहेछ । समाजवादी मोर्चा के का लागि भन्दा एमालसँग मुकाबिला गर्नको लागि रहेछ । त्यसका दुईवटा उद्देश्य छ एउटा एमालेसँग मुकाबिला गर्ने र अर्काे कांग्रेसलाई तर्साउने हो । समाजवादी मोर्चा बनाएर हुन्छ के ? तिनै चिनेका मान्छे हुन्, सँगै हिडिरहेका छन् । लिभिङ टुगेदर त चलिरहेकै छ ।”
ओलीले जनतालाई राजनीतिप्रति वितिष्णा जगाउने उल्टो बाटो गइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । एमाले आदेशबाट नियुक्त गर्ने र आदेशबाट बर्खास्त गर्ने पार्टी नभएको उनले बताए ।