राजनीति
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले मिटरव्याजीहरुलाई जनकारबाही गर्ने चेतावनी दिएका छन् ।
बिहिबार वीरेन्द्रनगरमा आयिजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्तोलाले नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृति भएको भन्दै देशमा पूँजीपतिहरू मात्रै फस्टाइरहेको बताए । उनले भने, “नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृति मौलाएको छ । देशमा पूँजिपतिहरुमात्रै फस्टाइरहेका छन् ।”
उनले देशमा ठुलो संकट आएको भन्दै उनले यसको मुख्य कारक दलाल पुँजीवादी सत्ता भएको बताएका छन् । यसैगरी संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा डुबाएको प्रवक्ता बास्तोलाको भनाई रहेको छ ।
उनले भने, “संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा डुबाएको छ। मिटरव्याजीहरुलाई हामी जनकारबाही गर्छौ । त्यस्ता दलालहरु जहाँ भेटिन्छ त्यहीँ कारबाही गर्छौ। दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने भएकाले यो व्यवस्थालाई बदल्नका लागी क्रान्तिकारी कम्यनिष्ट पार्टीको एकता हुन थालेको उनले बताए ।
देशमा गणतन्त्रको नाममा दलाल पूँजिवादी गणतन्त्र आएको तर जनगणतन्त्र आउन बाँकी रहेको भन्दै प्रवक्ता बास्तोलाले सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानी भएका निजी विद्यालयहरु बन्द गर्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्ने जानकारी गराए ।