राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।
दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए । बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठन लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व गरिरेहका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पद मुक्त भएका थिए । आइतबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङले ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
कोशी प्रदेशमा सरकारको नेतृत्व लिनको लागि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी चलेको देखिन्छ । गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) ले भने पहिचान पक्षधरको आन्दोलनको मागहरु सम्बोधन नभएसम्म कसैलाई पनि समर्थन नगर्ने जनाएको छ ।
सोही विषयमा टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु छलफलमा जुट्न लागेको देखिन्छ । आजको गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।