राजनीति
सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकरी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा पहिलो पालीमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै पाण्डेले भने, “हामी गठबन्धनमा भएका दलहरूको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय भएको छ ।”
कोशीमा शुक्रबार एमालेका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका थिए । नयाँ सरकार गठनका लागी प्रदेश प्रमुख परशुराम खापुङले ५ दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् ।
एमाले नेतृत्वको सरकार ढलेसँगै कांग्रेस र माओवादीले दुवैले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।